काठमाडौं । कुर्था–बिजलपुरा १७ किलोमिटर खण्डमा भदौ २३ गते रेल गुड्ने भएको छ । नेपाल रेल वे कम्पनीका इन्जीनियर रबिन्द्र शाहले उक्त खण्डमा बिहिबार बिहान १० बजेदेखि ५ बजेसम्म रेल गुडाएर परिक्षण गर्न लागिएको बताए ।
उनका अनुसार उक्त खण्डमा प्रतिघण्टा १०० किलोमिटरको स्पिडमा गुडाएर परिक्षण गरिनेछ । ‘ निमार्णको मुख्य कामहरु सम्पन्न भइसकेको यस खण्डमा बिहीबार रेल गुडाएर परीक्षण गर्न लागिएको हो । त्यसपछि भारत सरकारले हस्तान्त्रण गरेपछि दैनिक संञ्चालनमा आउनेछ,’उनले भने । यस खण्डमा रेल गुडाउन सफल भएपछि बिजलपुरा–बर्दिबासको खण्डमा १७ किमी पनि छिट्टै रेल गुडाउने तयारी रहेको उनले बताए ।
‘भोलि कुर्था–बिजलपुरामा रेल गुडाएर ट्रयाल गर्न लागिएको छ, त्यो सफल भयो भने भारतले बाँकी रहेको अर्को खण्डमा पनि छिट्टै रेल गुडाउने तयारी गरिनेछ,’ शाहले चाणक्यपोष्टसँग भने ।
‘हामीले जोइन्ट इन्स्पेक्सन् इनिसियल फेजमा गरिसकेका छौं । भारतीय निर्माणकर्ता कम्पनीले १ महिनाभित्र हामीले निर्माण समम्पन्न गरेर दिने छौं भनेर इन्स्पेक्सन् रिपोर्टमा लेखिएको छ । तर, २ महिना पुरा भइसकेको छ । निर्माण पुरा भइसकेको छैन,’ उनले भने ।
१८ किलोमिटर उक्त खण्डमा हाल मुआब्जा वितरणको काम भइरहेको छ । यस खण्ड अन्तर्गत बर्दिबासमा ६० बीघा जमिनको मुआब्जा वितरणका लागि २ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
हाल उक्त मुआब्जा रकम मूल्यांकन गरी वितरण गर्ने तयारीमा रहेकोा उनले बताए । यस खण्डमा मुआब्जा वितरण पछि निर्माणको कामले गति लिने उनको भनाइ छ ।
हाल जयनगर–जनकपुर खण्डमा रेल गुडिरहेको छ । जयनगर बर्दिबास ७० किलोमिटरमा बन्ने रेलमार्ग मध्ये भारतको जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर खण्डमा वि.सं २०७८ साल १२ महिना १९ मा नेपाल सरकार र भारत सरकारले संयुत्त उद्घाटन गरेका थिए । जयनगर–बिजेलपुरा खण्डमा रेलमार्ग वि.सं १९८४ देखि सञ्चालनमा आएको थियो ।
यस्तै, बर्दिबास–निजगढ खण्डमा नेपाल सरकारले आफ्नै लगानीमा ७० किलोमिटर रेल ट्रयाक निर्माण गर्ने भएको छ । उक्त खण्डमा विद्युतीय रेल सञ्चालनमा ल्याउने तयारी रहेको हो ।
यसरी विद्युतीय रेल विस्तार गर्दा प्रतिकिलामिटर निर्माणमा ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यस खण्डमा १५ वटा पुल निर्माण गर्नुपर्ने मध्ये हालसम्म ११ वटा पुल निर्माण पुरा भएको छ ।