काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद कृष्णप्रसाद दाहालले हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए।
नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएको तथा कारोबार घटेर रु एक अर्बमा सीमित हुन लागेको उनको भनाइ थियो । सांसद दाहालले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताए । उनले त्यस्तो नयाँ संस्था आवश्यक नभएको भन्दै सरकारले गलत निर्णय गर्न लागेको आरोप लगाए ।
सांसद खेमप्रसाद लोहनीले भूकम्प प्रभावित नागरिकको आवास निर्माणको काम पूरा नभएकाले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको कामलाई व्यवस्थित बनाउन र ४० हजार भूकम्प प्रभावितको समस्याको समाधान गर्न माग गरे।
सांसद गजेन्द्रबहादुर महतले महाअभियोग लागेका सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पदीय मर्यादा विपरीत गएर अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । सांसद गणेशप्रसाद पहाडीले सिन्धुली जिल्लाका विभिन्न नदीले बस्ती कटान गरेकाले जनजीवन प्रभावित भएको भन्दै तत्काल तटबन्धको प्रबन्ध गर्न सरकारको ध्यानकर्षण गराए।
सांसद घनश्याम खतिवडाले वास्तविक किसानले प्रभावकारी रुपमा राहत तथा अनुदान पाउन नसकेकामा गुनासो गरे । सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय सहमति जुटाएर नागरिकता विधेयक पारित गर्नुपर्नेमा त्यसो नभएकामा आपत्ति प्रकट गरे ।