तंग्रिँदै पर्यटन व्यवसाय, ८ महिनामा भित्रिए सवा ३ लाख विदेशी पर्यटक

कोभिड–१९ महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । अङ्ग्रेजी वर्ष सन् २०२२ को सुरुआती चरणदेखि पर्यटक आगमन सुधारोन्मुख रहेको पर्यटक आगमनको आँकडाले देखाउछ ।

अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको आठ महिनामा कुल ३ लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन् । यो हवाई मार्ग भएर भित्रिएका पर्यटकको विवरण हो ।

बोर्डका अनुसार गत अगष्टमा ४१ हजार तीन सय चार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिडपूर्व सन् २०१९ को अगष्टमा ७३ हजार ८१४ पर्यटक नेपाल भित्रिएका छन । तुलनात्मकरुपमा अगष्टमा कम पर्यटक आउछन् । वर्षायाम भएकाले पर्यटकको सङ्ख्यामा कमी आएको बोर्डले जनाएको छ । सेप्टेम्बर महिना पर्यटनमा उपयुक्त सिजन मानिन्छ । यो सिजनमा उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिने गरेका छन् ।

समग्रमा पर्यटक आगमन सुधारोन्मुख रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । वर्षको सुरुआतदेखिनै पर्यटक आगमन सुधार (७५ प्रतिशतसम्म) ‘रिभाइब’ भइरहेको अवस्थामा अगष्टमा केही कमी आएको उनको भनाइ छ ।

‘अघिल्लो महिनाको भन्दा अवस्था हेर्दा केही घटेको देखिन्छ, अमेरिका, बङ्गलादेश र भारतको सकारात्मक बढोत्तरी थियो, समग्रमा ६५ प्रतिशत रिभाइब भएको देखिन्छ,’ निर्देशक लामिछानेले भने ।

इन्धनको मूल्यवृद्धिभएसँगै गन्तव्य मुलुकमा पुग्ने हवाइ भाडा महङ्गो भएकाले पनि पर्यटक आवागमनमा केही असर परेको अनुमान गर्न सकिने उनले बताए ।

अगष्टमा १६ हजार १४७ भारतीय नेपाल आएका छन् । एसिया र अन्य मुलुकबाट १८ हजार ५०४, युरोपबाट ३ हजार २२७ पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट ४ हजार ६६ पर्यटक नेपाल आएका छन् ।

कुन महिनामा कति पर्यटक भित्रिए

बोर्डको विवरणमा जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४१ हजार ६, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९६७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४३ हजार २४९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

मध्यपहाडी राजमार्गको रेखाङ्कन टुंगियो : पोखरामा बजार क्षेत्र छाडेर गाउँ उक्लियो, यस्तो छ रुट Read Previous

मध्यपहाडी राजमार्गको रेखाङ्कन टुंगियो : पोखरामा बजार क्षेत्र छाडेर गाउँ उक्लियो, यस्तो छ रुट

मुस्ताङ उडेको समिट एयरको जहाज पोखरामा आपतकालीन अवतरण Read Next

मुस्ताङ उडेको समिट एयरको जहाज पोखरामा आपतकालीन अवतरण