काठमाडौं । हालै प्राथमिक साधरण सेयर (आइपीओ) जारी गरेको मन्दाकिनी हाइड्रोपावर लिमिटेडको खुद नाफा झन्डै दोब्बरले बढेको छ ।
कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९२.१७ प्रतिशतले बढेको हो ।
गत असार मसान्तसम्म कम्पनीले २ करोड ९० लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ करोड ४० लाख रुपैयाँ बढी हो । अघिल्लो वर्ष कम्पनीले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
विद्युत् विक्रीबट हुने आम्दानी र अन्य आम्दानी बढेसँगै कम्पनीको खुद नाफामा सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत् विक्रीबाट हुने आम्दानी १७.७१ प्रतिशतले बढेर ११ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी पनि ४८ गुणाले बढेर १७ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी ३७ हजार थियो ।
हाल ५८ करोड ८० लाख रुपैयाँ चुक्त पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा ३ करोड ७५ लाख रुपैयाँ जम्मा भएको छ । खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि दोब्बरले बढेको छ । अघिल्लो वर्ष ३.६८ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको कम्पनीको गत वर्ष बढेर ७.३१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १०७.८८ रुपैयाँ छ ।