काठको टहरामै टर्मिनल भवन

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चामा रहेको एक मात्र रारा विमानस्थलको टर्मिनल टावर १९ वर्षदेखि काठको टहरामै रहेको छ ।

विसं २०६० मा कच्ची धावन मार्गमार्फत जहाज उडान र अवतरण सुरु गरिएको भए पनि अझै सुविधा युक्त टर्मिनल भवन निर्माण हुन सकेको छैन ।

विसं २०६० वैशाख ३ गते पहिलो पटक रारा विमानस्थल ताल्चामा परीक्षण उडान गरिएको थियो । विगत १९ वर्षदेखि निरन्तर उडान र अवतरण भइरहे पनि सामान्य हावा लाग्दा काठको भवन हल्लिने गरेको बताइएको छ ।

जोखिम मोलेर कर्मचारी टहरामै बसेर काम गर्न बाध्य भएका छन् । यात्रु विश्राम कक्ष पनि नहुँदा भुइँमा नै बस्ने गरेका छन् ।

सुविधायुक्त टर्मिनल टावरको निर्माण जारी छ । ठेकेदारको ढिलासुस्तीका कारण काम सम्पन्न हुन अझै समय लाग्ने अवस्था छ । विसं २०७२ मा ५७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्र गरे पनि मुख्य र संवेदनशील टावर टर्मिनल भवन नबन्दा समस्यामा छ ।

टर्मिनल टावर निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले दुई वर्षअघि रु नौ करोड विनियोजन गरी ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । साढे दुई वर्ष बित्दासमेत मुस्किलले ५० प्रतिशत काम मात्र पूरा भएको नागरिक उड्डयन कार्यालय मुगुका प्रमुख सन्तोषकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम रोकियो । अहिले एक वर्ष म्याद पुनः थपिएको छ । यो म्यादमा पनि निर्माण सकिने सम्भावना कम छ ।

विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा पनि सुरक्षाको कुनै प्रबन्ध छैन । विमानस्थल वरपर घेरबार हुनुपर्ने भए पनि एउटा सामान्य तारलेसम्म बारिएको छैन । विमानस्थलको चारैतिर मानिस, पशु, गाईगोरु, कुकुर, स्याल हिँड्ने बाटो मात्र रहेको छ ।रासस

एनआइसी एशियाको 'अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो सार्वजनिक Read Previous

एनआइसी एशियाको 'अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो सार्वजनिक

अब मोटरसाइकलमा मोबाइल होल्डर राखे जरिवाना हुने Read Next

अब मोटरसाइकलमा मोबाइल होल्डर राखे जरिवाना हुने