रासायनिक मलले माटोलाई मृत बनाउँदै छ, अर्ग्यानिक खेतीको विकल्प छैन : छविलाल पौडेलको अन्तर्वार्ता

वरिष्ठ कृषि विज्ञ छविलाल पौडेल

काठमाडौं । पछिल्लो समय नेपालमा कृषिवाली लगाउँदा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । मल र विषादीले उत्पादकत्व बढाउने भएकाले कृषकले यसको प्रयोग बढाएका छन् ।

नेपालमा उत्पादन नहुने भए पनि विदेशबाट ल्याएर रासायनिक मलको प्रयोग गरिन्छ । खेतीवालीमा प्राङ्गरिक मलको प्रयोग घट्दो छ भने रासायनिक मलको प्रयोग बढ्दो छ । जसले माटोको उर्वराशक्तिमा क्रमशः ह्रास ल्याएको छ ।

वरिष्ठ कृषि विज्ञ छविलाल पौडेल रासायनिक मलका कारण नेपालको माटोबाट अर्ग्यानिक तत्व घट्दै गएको बताउँछन् । उनले सन् १९६० मा भारतमा भएको हरित क्रान्तिसँगै नेपालमा पनि रासायनिक मल भित्रिन थालेको बताए ।

भारतले कृत्रिम बीउ तथा मलको माध्यमबाट कृषि उत्पादन बढाउन थालेपछि नेपालमा स्वतः भित्रिएको उनी बताउँछन् । रासायनिक मलका कारण केही समय उत्पादन बढे पनि भविष्यमा माटो मृत अवस्थामा पुग्ने उनले बताए ।

रासायनिक मलको बढ्दो प्रयोग, यसले माटोमा पार्ने असर, प्राङ्गरिक मलको प्रयोग कसरी बढाउन सकिन्छ भन्ने लगायत विषयमा कृषि विज्ञ पौडेलसँग चाणक्य पोष्टका लागि गीता भुजेलले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय नेपालमा पनि रासायनिक मलको प्रयोग बढ्दो छ । यसले माटोको अवस्था कस्तो बनाएको छ ?

हाम्रो माटो अरू देशको जस्तो अवस्थामा पुगेको छैन । युरिया हाल्दा २०/४० प्रतिशत माटोले लिन्छ बाँकी ६० देखि ८० प्रतिशत हावा पानीमा मिल्छ । भिरालो ठाउँमा १०/२० प्रतिशत मात्र विरुवाले लिन्छ । यसरी नेपालमा पहाडी क्षेत्र भएकाले हाम्रोमा २० प्रतिशत हारहारीमा माटो बिग्रीएको छ । त्यो पूर्ण रूपमा बिग्रिएको छैन त्यसलाई सुधार गरेर फेरि अर्ग्यानिक बनाउन सकिन्छ ।

अहिले वातावरण बिग्रनुमा कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग पनि उल्लेख्य रहेको छ । विश्वमा ३० प्रतिशत कृषि क्षेत्रका कारण हावा पानी प्रदूषण भएको छ । हामीले कृषिमा प्रयोग गर्ने ठूलाठूला मेसिनले पनि हाम्रो माटो बिगारी रहेको छ । धेरै खनजोत गर्दा पनि माटो बिग्रिन्छ । रासायनिक मलको प्रयोगले हाम्रो रैथाने बालीहरू विस्थापित हुँदैछ ।

रासायनिक मलबाट कृषि क्षेत्रलाई बचाउन के गर्नुपर्छ ?

पर्यावरणीय कृषिमा एग्रो इकोलोजिक कृषि गर्नुपर्छ । अर्ग्यानिक खेती भनेको विषादी रहित कृषि गर्नु हो । विषादीको प्रयोग भोलिदेखि नै बन्द गरे पनि हुन्छ ।

रासायनिक मलबाट जमिन र माटो बचाउन खेत, बारीमा बनबुट्यान (पातपतिङ्गर) रोप्नु पर्यो ।, खेती प्रणालीमा पातपतिङ्गर, कम्पोष्ट मल बनाउन प्रयोग गर्न सकिन्छ । बुट्यानको छापो हाल्दा यसले झार आउन दिँदैन, माटोलाई मलिलो बनाइ राख्छ । यसरी पातपतिङ्गर राख्दा गड्यौला धेरै हुन्छ त्यसले जमिन खन्छ, पानी परेको बेला जमिनले सोस्छ , भू-क्षय लाग्दैन, बाढी पहिरो जाँदैन ।

अर्ग्यानिक मलको सट्टा युरिया मल हाल्दा खेतीपातीमा चाहिने किराहरू मर्छन् । तर, किरा लाग्यो भने खेतमा आगो लगाउने चलन छ, विशेष गरी तराई तिर यस्तो हुन्छ । त्यो झन नराम्रो हो । त्यसले त्यस जमिनमा बाली हुर्नन दिँदैन ।

खेतीपाति गरे पनि बाँझो राख्नुको सट्टा बुट्यान रोप्यो भने त्यसले जमिनलाई बचाइ राख्छ । त्यहीँ पलाउँछ र त्यही मरेर मल बन्छ । खेती नगर्ने समयमा कोसेबाली लगाएर पनि जमिनलाई बचाइ राख्न सकिने छ ।

मिश्रित खेती प्रणाली अपनाउन पनि सकिन्छ । यसबाट पनि जमिनलाई अर्ग्यानिक तर्फ लान सकिन्छ । मिश्रित खेतीमा एकै ठाउँमा मकै, दाल, कोदो रोपेको हुन्छ । यसले जैविक विविधता बढाउने छ ।

कृषिवन प्रणाली अपनाउन पनि सकिन्छ । प्राकृतिक सिद्धान्तलाई खेती प्रणालीमा जोड्नु पर्छ । पारिस्थितिक प्रणाली, इको सिस्टम, कृषि वन प्रणाली अपनाउनु पर्छ । बन छ भने त्यसको पात पतिङ्गर मलको रूपमा प्रयोग गर्न सकिन्छ, त्यहाँबाट आउने चरा, मौरीहरूले पोलिनेसनमा सहयोग पुर्याउँछन् ।

अर्ग्यानिक खेतीतर्फ लाग्न के गर्नु पर्छ ?

रासायनिक मलको केही रकम कटौती गरेर किसानले अर्ग्यानिक माटो बढाए बापत अनुदान दिनु पर्यो । अर्ग्यानिक माटो बढायो भने हाम्रो उत्पादन पनि बढ्छ । युरिया मल उत्पादन गर्दा धेरै इनर्जी खर्च हुन्छ । त्यसले खेतमा पनि पछि माटो र बीउ दुवैमा असर पार्छ ।

एकथरी रासायनिक मल जसरी पनि चाहिन्छ भन्ने छन् । अर्काथरी विषादी हाल्नु पर्दैन अर्ग्यानिक उत्पादन गर्छौं भन्ने छन् । रासायनिक मलमा २४ अर्ब रूपैयाँ अनुदान छुट्याइएकाे छ । तर, प्राङ्गारिक खेती गर्नेलाई केही छैन । किसानलाई माटो सुधारेबापत अनुदान दिनु पर्यो नि । माटोमा प्राङगारिक पदार्थको मात्रा बढाउनेलाई प्राथमिकता दिइयो भने मात्र माटो र कृषि दुवै बचाउन सकिन्छ । तर हाम्रो राज्यले त्यसलाई प्राथमिकता दिएको छैन ।

हाम्रोमा हाइब्रीड बीउ र रासायनिक मललाई सरकारले धेरै प्राथमिकता दिएको छ । हाइब्रीड प्रयोग गर्दा रैथाने जातहरू विस्थापित भए ।
परागसेचन, बिरुवामा पोलिनेसनको काम प्राकृतिक रूपमा हुन दिनु पर्यो । भाले र पोथी बीउ हुन्छ । त्यसलाई माहुरीले बोकेर भाले बीउबाट पोथी बीउमा लगेर पोलिनेसन गर्ने काम गर्छ । त्यसलाई पराकसेचन भनिन्छ । वनजंगल नजिकै भयो भने त्यो सहज हुन्छ । तर, अहिले परागसेचन समेत कृत्रिम हुन थालेको छ ।

अर्ग्यानिक कृषि ४ वटा सिद्धान्तमा आधारित छ । वातावरणको सिद्धान्त, माटोको स्वास्थ्य, मानव स्वास्थ्य, ज्ञान र विवेकमा आधारित छ । कतिपय हिमाली भागमा कहिले रासायनिक मल नपुगेर अर्ग्यानिक माटो छ । तराई तिर रासायनिक मल हाले पनि विदेशमा जस्तो माटो विग्रेको अस्था छैन । अहिले हाम्रो माटोमा अर्ग्यानिक मटेरियल १ प्रतिशत भन्दा तलको रहेको छ । ५ प्रतिशतभन्दा बढी अर्ग्यानिक भयो भने रासायनिक मल चाहिँदैन् ।

रासायनिक मल रोक्दा त्यसले त ठूलो असर पार्दैन ?

रासायनिक मल ठप्प रोकि हाल्नु चाहिँ हुदैन । त्यसलाई विस्तारै कम गर्दै लानु पर्छ । त्यसको बदलामा स्थानीय जाती बिरुवा रोप्ने । खेती गर्दा रासायनिक मल नहाली बोट बिरुवा, झार काटेर त्यहाँ हाल्यो भने माटो सुधार्न सकिन्छ । बर्खामा धान, हिउँदमा गँहु, चैतवैशाखमा दैचा (एक किसिमको कोसे झार) रोप्ने ४५ दिनपछि त्यसलाई त्यहीँ कुहाइदिने त्यसो गर्यो भने माटोलाई मल चाहिँदैन । वैशाखदेखि असारसम्म दैचा रोप्यो भने मल, युरिया केही चाहिँदैन ।

तराईमा एउटै बाली हुन्छ, अरू बेला खाली राख्ने चलन छ । तराईमा मुङको दाल रोप्यो भने पनि हुन्छ । त्यसको खोसेटा त्यही कुहाइ दियो भने त्यो पनि मल हुन्छ ।

झार मार्न र किरा मार्न विषादी हाल्नु हुँदैन, बालीमा उत्पन्न हुने छुट्टै किलिङ टेक्नोलोजी हुन्छ । हामीले युरिया हालेपछि माटोको ब्याक्टेरिया, फंगल, मारिन्छ, त्यसपछि बालीलाई इम्यूनिटी दिने ब्याक्टेरिया नभएकाले बालीमा किरा लाग्ने हुन्छ, ह्रास आउछन् ।

एक पटक किरा मार्न विषादी हालेपछि त्यसले बालीको मित्रजिव पनि मार्छ । त्यसले इको सिस्टम विगार्छ त्यसैले गर्दा झन झन धेरै विषाधि हाल्दै जानुपर्छ ।

कृषिमा कसरी परिवर्तन ल्याउन सकिन्छ?

हामी सजिलो उपाय अपनाउनु भनेको कृषिको विनासको काम हो । हाम्रो पुराना प्रकृयाहरू नै धेरै राम्रो छ । तर, देशले पनि युरियालाई प्रोत्साहन गरेको छ । युरिया किनेर ल्यायो भने पैसा अनुदान दिन्छ, बीउ किने ल्यायो भने पैसा दिँदैन । यसका लागि सरकारी नीति हुनुपर्यो । त्यसका लागि नीतिगत परिवर्तन ल्याउन आवश्यक छ । त्यसपछि संस्कार परिणत हुन्छ ।

विद्यालयको पाठ्यक्रम परिवर्तन गर्नु पर्यो । सानो बच्चाले पनि सानोबाट होम गाडेन राखेर सिकाउनु पर्यो । त्यसले उनीहरूलाई कृषिसँग नजिक बनाउने छ ।

अहिले धेरै कृषितर्फ लाग्न चाहान्छन् तर नीतिमा समस्या छ । उद्योग खोलेर गर्नेहरू अर्ग्यानिक हैन, कौसीमा रोप्ने अर्ग्यानिक हो । अर्ग्यानिक माटो नाप्न सकिन्छ । त्यसलाई तुलना गरेर कति प्रतिशत अनुदान दिने, त्यसले ५० प्रतिशत अर्गानिक खेती बढाउने छ ।

अर्ग्यानिक बाली विकासका लागि सरकारले छुटाउने बजेट किसानसम्म पुग्ला त ?

अर्ग्यानिकको बजेट रासायनिक जस्तो प्रष्ट छैन । व्यवसायिक रूपमा कृषि गर्ने, दिउँसो मल हाल्ने र राती रसायनिक मल हाल्नेले रकम पाए होलान ।

कर्णालीलाई अर्ग्यानिक बनाउने भनेर घोषणा गरेको छ । तर, त्यसमा विकृति छ । दिउँसो मल हाले जस्तो गर्ने राती युरिया हाल्ने काम भइरहेको छ । त्यसलाई यता ल्याएर अर्ग्यानिक भन्दै बेचिएको छ । खानामा पनि अर्ग्यानिक फुड भनेर महंगोमा बेचिन्छ । यो विकृति समाधान गर्ने काम सरकारको हो ।

अर्ग्यानिक इन्सपेक्टर खटाएर त्यो अनुगमन गर्नुपर्छ । अर्ग्यानिक भनेको उद्योग खोलेर गर्ने काम हैन, एउटा क्षेत्र नै अर्ग्यानिक हुनु पर्यो । त्यसलाई समस्टीगत रूपमा नापेर अनुदान दिनु पर्यो ।

सरकारले हरेक प्रदेश एक अर्ग्यानिक मल उद्योग खोल्ने भनेको छ । त्यसले रासायनिक मलको विस्थापन गर्न सक्ला ?

अर्ग्यानिक मलको कारखाना खोल्दैमा अर्ग्यानिक कृषि हुन सक्दैन । तर, त्यो पनि राम्रो पक्ष हो नराम्रो भन्न मिल्दैन । तपाईंको सानो करेसा छ, गाईवस्तु छैन भने त्यस्तोलाई काम लाग्छ । तर, प्रयोगमा ल्याउनु पर्यो ।

कृषि काम गर्ने संकृति छैन । सरकारले थोरै रोपेर धेरै फला भन्दै रासायनिक मल वितरण गरेको छ । अनि को अर्ग्यानिक मल किन्छ ? कृषि पढेकाहरू पढ्दा पढ्दै फ्रष्टेड भइसक्छन् । कृषि प्रणाली पनि राम्रो भएन । विदेशमा कृषि गर्नेहरूले उता नाम कमाउछन् । नेपाली भनेपछि कृषिमा खुब जान्ने मानिन्छ ।

कृषि अनुदान पनि सरकारले व्यवस्था गरेको छ त्यसले पनि कृषिमा लगानी बढाउन नसक्नुको कारण के हो ?

अनुदान छ तर, खेती गर्नेले त्यो पाएनन् । पार्टीको सदस्य भए अनुदान पाउनु हुन्थ्यो । कृषि सुशासन कम हुनु पनि एउटा समस्या हो । अनुदान खास किसानले नपाउने, कृषिमा कर लिने, कृषिको समस्टीगत कृषि सुशासन चाहियो ।

जो किसानको बाउ, बाजे, हुँदै पछिसम्म कृषिमा लागेका छन् उनीहरू वास्तविक किसान हुन । उनीहरूले अनुदान पाउनु पर्यो तर, यहाँ नक्कली र पहुँचवालाले मात्र अनुदान पाउँछन् । जसले अनुदान पाउन्जेल कृषि गर्छन् । वास्तविकतामा उसका बाउबाजे अरू व्यवसायमा हुन्छन् । ऊ अनुदानका कारण कृषिमा लाग्छ पाउन्जेल गर्छ पाउन छाडेपछि आफ्नै व्यवसायमा फर्किन्छ । यसरी वास्तविक किसानसम्म अनुदान पुग्दैन ।

किन वास्तविक किसानहरूले अनुदान पाउन नसकेका ?

राजनीतिक दलहरूले बिगारेका छन् । जसले नेताकोमा रोइलो गर्न जान्छ, हात जोडे विन्ती गर्न सक्छ उसले यस्तो अनुदान पाएको छ । वास्तविक किसानले त सूचना समेत पाउन सकेका छैनन् । उनीहरूलाई अनुदान के हो पनि थाहा हुन्न ।

कृषि विकास गर्ने भनेको पालिका लेबलसम्म कृषि ज्ञान भएका दक्ष मान्छे पठाउनु पर्छ । किसानबाट किसान हुँदै कृषि प्रणाली विकास गर्नु पर्यो । किसानले गरेको कुरो अर्को किसानले बुझ्नु पर्यो । विज्ञहरूले पनि किसानबाट सिक्ने कुरा होला त्यो सिक्नु पर्यो ।

क्षेत्रगत विज्ञहरू अपहेलनामा परेका छन् । विज्ञ भनेका पार्टीगत रूपमा छानिएका मान्छेहरू छन् । जसले गर्दा विकास हुन सकेको छैन । दक्षताको पनि कदर चाहियो ।

सरकारले किसान पेनसन दिन्छु, त्यसका लागि तथ्यांक संकलन गर्दै छ । किसान पेन्सन कतिको प्रभावित हुन सक्छ ?

किसान वर्गीकरण राम्रो हो । कोहीलाई प्राविधिक सहयोग मात्र दिए पुग्छ कि कसैलाई ठूलो अनुदान चाएिको छ कि । तर, त्यो कार्यन्वयन हुनुपर्छ । त्यसमा पनि पार्टीले बिगार गर्न सक्छ ।

पार्टीको मान्छे भए सबैभन्दा धेरै सुविधा पाउने पाटिको मान्छे नभए नपाउने हुनु भएन । यसलाई राम्रोसँग गर्ने हो भने यसबाट किसानलाई अगाडि बढाउन सकिन्छ । राष्ट्रिय कृषक समूह महासंघले पनि यो काम गरेको छ । यसमा धेरै अध्ययन बाँकी छ हतार गरेर छिटै गर्नु नकरात्मक हुन सक्छ ।

अहिलेको अवस्थामा कुन–कुन क्षेत्रलाई अर्ग्यानिक रूपमा अगाडि बढाउन सकिन्छ ?

अहिले तुरुन्तै अर्ग्यानिकमा लैजाने भनेको कर्णाली, मनाङ, मुस्ताङको माथिल्लो भेगमा हो । त्यहाँ माटो बचाउनु पर्यो । विषादी आजै रोक्न सकिन्छ, मल चाहिँ फेजवाइज रोक्नु पर्छ र कम गर्दै लैजाने हो । पोलिसी परिवर्तन गर्नु पर्यो, मेन्टालिटी परिवर्तन गर्नु पर्यो ।

सुरूमै १०० प्रतिशत सुधार्न सकिँदैन पहिला ४० प्रतिशत मल घटाउने अनि त्यसलाई अझै कम गर्दै विकल्प पनि विकास गर्दै जाने । गोबर, बुट्यान, जंगलबाट मलको विकास गर्दै लाने अनि जति अर्ग्यानिक बनाउन सकिन्छ ।

परम्परागत प्रविधिलाई बचाउनु पर्यो । रैथानी बालीलाई विकास गर्ने, झारहरू बाटै मल विकास गर्न सकियो भने रासायनिक मल जस्तै धेरै उत्पादन बढाउन पनि सकिन्छ । तर, त्यसका लागि पूरै अर्ग्यानिक हुँदासम्म कुर्नुपर्छ त्यो सजिलो भने छैन ।

१/२ वर्ष मेहेनत गराैं, बन बुट्यान बचाऔँ, खोस्टाखोस्टी, झारपात नफ्याकौँ त्यसलाई बारीमै कुहिन दिऔँ, यसरी बालीलाई अर्ग्यानिक तर्फ जान सक्छौँ र खाद्य सुरक्षाको साथै पोषण सुरक्षा गर्न सकिन्छ र पाटोलाई जीवित राख्न सकिन्छ साथै वातावरण संरक्षण पनि हुन्छ ।

 

सूर्यविनायक-धुलिखेल सडक विस्ताका लागि ठेक्का आह्वान, ३ वर्षमा सम्पन्न हुने Read Previous

सूर्यविनायक-धुलिखेल सडक विस्ताका लागि ठेक्का आह्वान, ३ वर्षमा सम्पन्न हुने

हिमालयन पावरको दोर्दी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो Read Next

हिमालयन पावरको दोर्दी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो