काठमाडौं । भारतीय अर्बपति गौतम अडानी विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गले सार्वजनिक गरेको विश्वका सर्वाधिक धनी व्यक्तिहरूको सूची अनुसार अडानी ग्रुपका संस्थापक गौतम विश्वकै तेस्रो धनी बनेका हुन् ।
अडानी विश्वकै धनीहरूको सूचीमा शीर्ष तीनमा पुग्ने एसियाकै पहिलो व्यक्ति बनेका छन् । भारतीय धनाढ्य मुकेश अम्बानी र चिनियाँ अर्बपति ज्याक मा पनि शीर्ष तीनमा पुग्न सकेका थिएनन् ।
लुई भिटनका मालिक फ्रान्सेली बर्नार्ड आर्नल्टलाई पछि पार्दै अडानी विश्वकै तेस्रो धनीको स्थानमा पुग्ने पहिलो एसियाली नागरिक बनेका हुन् ।
ब्लुमबर्गका अनुसार मंगलबारसम्म अडानीको कुल सम्पत्ति १ खर्ब ३७ अर्ब अमेरिकी डलर पुगेको छ । यो दोस्रो स्थानमा रहेका अमेजनका मालिक जेफ बेजोसकोभन्दा १६ अर्ब डलर कम हो । बेजोसको कुल सम्पत्ति १ अर्ब ५३ डलर छ ।
विश्वकै धनाढ्य व्यक्तिको रुपमा विद्युतीय कार निर्माता टेस्लाका मालिक एलन मस्क रहेका छन् । उनको सम्पत्ति २ खर्ब ५१ अर्ब डलर रहेको छ ।
अडानीको सम्पति सन् २०२२ मा मात्रै ६०.९ अर्ब डलरले बढेको छ । यता, अडानी ग्रुपको सेयर भाउ सन् २०२० यता १००० प्रतिशतभन्दा धेरैले बढेको छ ।
अडानी ग्रुप भारतकै ठूलो व्यापारिक समूहमध्ये एक हो । ६० वर्षीय अडानीले डेटा सेन्टर, सिमेन्ट, बन्दरगाह, विमानस्थल अपरेटर, सिटी ग्यास वितरक, कोइला लयागत व्यवसाय संचालन गरेका छन् ।