विदेशमा बजार विस्तार गर्दै केटीएम सिटी, भारतमा ७ वटा आउटलेट संचालन

काठमाडौं । शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले भारतमा बजार विस्तार गरेको छ । स्वदेशी लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले भारतको सिलुगढीमा नयाँ आउटलेट खोलेको हो ।

भारतको सिलगुढीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको नयाँ आउटलेट ५ हजार स्क्वेर फिट क्षेत्रफलमा फैलिएको छ । यसअघि भारतको विभिन्न ६ स्थानमा आउटलेट सञ्चालन गरेर व्यवसाय गर्दै आएको केटीएम सिटीले सिलुगढीमा पनि सेवा विस्तार गरेको हो । चाँडै भारतको राजधानी नयाँ दिल्लीको व्यापारिक महलमा समेत आउटलेट खोल्ने केटीएम सिटीले जनाएको छ ।

नेपाली उत्पादन केटीएम सिटीले देशभर विभिन्न आउटलेट मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । काठमाडौं सहित पूर्वको धरान, पश्चिमको बुटवलसम्म केटीएम सिटीले आउटलेट सञ्चालन गरेर शुलभ मुल्यमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय लुगा उपलब्ध गराउँदै आएको छ । भारतीय बजारमा पनि गुणस्तरीय नेपाली ब्राण्डको लुगाले सफलता प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ ।

‘केटीएम सिटीले गुणस्तरीय लुगामा देशलाई आत्मनिर्भर मात्र बनाएको छैन । अन्तराष्ट्रिय बजारमा नेपाली ब्राण्डको रुपमा आफूलाई स्थापित समेत गर्न खोजिरहेको छ । भारतीय बजारमा केटीएम सिटीले राम्रो सफलता प्राप्त गर्ने विश्वास हामीले लिएका छौं,’ केटीएम सिटीले विज्ञप्तिमार्फत भनेको छ ।

‘अब हामी नेपालमात्र हैन, अन्तर्राष्ट्रिय बजारमा नेपाली लुगाको सम्भावना र बजार खोजिरहेका छौं । नेपाली ब्राण्डको लुगा निर्यात गरेर देशको अर्थतन्त्रमै टेवा पुर्याउने हिसाबले योजना बनाईरहेका छौं,’ कम्पनीले भनेको छ ।

केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको आधिकारिक किट पार्टनर हो । पछिल्लो समय खेलकुदमा आक्रमक रुपमा सेवा विस्तार गरिरहेको केटीएम सिटीले भलिबल, ब्याडमिन्टन, मार्सलआर्ट, टेबल टेनिस लगायत सम्पूर्ण खेलको पोशाक उत्पादन र वितरण गर्दै आएको छ ।

 

रेलको 'वासिङ’ गराउन मात्र बर्सेनि ५ करोड खर्च Read Previous

रेलको 'वासिङ’ गराउन मात्र बर्सेनि ५ करोड खर्च

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र Read Next

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र