काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १८ अंंकले घटेको नेप्से आज १७ झन्डै अंकले घटेको हो ।
शुक्रबार नेप्से १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा आइपुगेको छ । नेप्सेका अनुसार २१३ कम्पनीको १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँ बराबरको ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै १.८९ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स समूह पनि १.८७ प्रतिशतले घटेको छ ।
आज पनि हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर साढे ५ करोड र अरुण काबेली पौने ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज पञ्चकन्यामाइ हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ४.८८ प्रतिशत गुमाएका छन् ।
त्यसैगरी, कालिका पावर ४.३९, ग्रीन डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, गोर्खा फाइनान्स, लिबर्टी इनर्जी, गुराँस लघुवित्त, बुद्धभूमि नेपाल र युनिभर्सल पावरको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।