दशैँअघि देशभरका मुख्य सडक खाल्डाखुली मुक्त बनाइने, ३३ डिभिजनले काम गर्दै

काठमाडौं । चाडपर्वको सिजन सुरू भएसँगै सडक विभागले देशभरका मुख्य सडकको खाल्डाखुल्डी पुर्ने योजना बनाएको छ ।

अन्य समयमाभन्दा चाडपर्वको बेला धेरै मानिसले आवतजावत गर्ने भएकाले त्यसलाई मध्येनजगर गर्दै सडक विभागले मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने योजना बनाएको हो ।

वर्षाका कारण देशभरका मुख्य सडकमा खाल्डाखुल्डी बनेकाले यात्रुको सुविधाका लागि दशैंअघि नै मर्मतसम्भार गर्ने योजना बनाइएको विभागले जनाएको छ ।

सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले यो वर्ष पनि राजमार्गहरूमा पटके मर्मत गरिने बताए । उनले दशैँ अघि धेरै गाडी चल्नु पर्ने भएकाले सडकलाई पटल फ्री (खाल्डाखुल्डी रहित) बनाउने बताए ।

भदौ तेस्रो सातादेखि देशभरका डिभिजनमार्फत खाल्डाखुल्डी पुर्ने काम सुरू गर्नेगरी तयारी गरिएको उनले बताए । ‘अझै पानी परिरहेकोले धेरै काम गर्न सकेका छैनाैं, दशैँ अघि यात्रा गर्नेलाई सहज होस भनेर सडक पटल फ्री बनाउने छाैं,’ अधिकारीले चाणक्य पोष्टसँग भने ।

उनले विशेष गरी राजमार्गहरूमा यस्तो काम गरिने बताए । बाढी पहिरोका कारण बिग्रेका सडकहरूमा एकतर्फी भए पनि सडक खुल्ला गरेर काम गरिने उनले बताए । उनले पृथ्वी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग र स्तरोन्नती भइरहेका सडकहरूमा विशेष गरी सडकलाई सहज बनाउने काम गरिने बताए ।

वर्षामा धेरै मर्मत सम्भार गर्दा टिकाउ नहुने भन्दै उनले हाल अत्यावश्यक मर्मतको काम भइरहेको बताए । सडकको अवस्थाका कारण र क्षमताभन्दा बढी यात्रु बोक्ने कारण हरेक वर्ष दशैँमा सडक दुर्घटना हुने गरेको छ ।

प्रवक्ता अधिकारीका अनुसार देशभरका डिभिजनहरूले सडक मर्मतको काम गर्ने छन् । देशभर ३३ वटा डिभिजन कार्यालयहरू रहेका छन् । यी डिभिजनले ८० वटा राजमार्गको नेटवर्कको मर्मत सम्भारको काम गर्ने छ ।

कुन प्रदेशमा कुन डिभिजनले गर्छ मर्मत?

डिभिजन अनुसार हरेक ८/१० किलोमिटर दुरीमा मेसिन र कर्मचारी तैनाथ गरी सडक मर्मत गरिने अधिकारीले बताए ।

सुर्खेत डिभिजनले ७ र ६ प्रदेशको मर्मत सम्भार हेर्ने गरेको छ । पोखरा डिभिजनले ४ र ५ प्रदेशको मर्मत सम्भारको जिम्मा पाएको छ ।

दमक र हेटौंडा डिभिजनले प्रदेश २ र १ प्रदेशको सडक मर्मत सम्भार गर्ने गरेको छ । काठमाडौं डिभिजनले ३ नम्बर प्रदेशको मर्मत सम्भारको जिम्मा पाएको छ ।

२१८ सडक मर्मत गर्ने हेभी इक्यूपमेन्ट 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २१८ हेभी इक्यूपमेन्टहरू छन् । एक्स्लाभेटर, लोडर, टिपर, ट्रक, रक ब्रेकर, डम्पर, रोडबेड टेलर लगायतका उपकरणहरू रहेका छन् ।

यान्त्रीक कार्यलयका ९ वटा डिभिजन छन् । यी सबै डिभिजनमा इन्जिनीयर र सब इन्जिनीयर हुन्छन् । इन्धन आपूर्ति डिभिजन कार्यालयबाट आपूर्ती गरिन्छ । कुनै मेसिन बिग्रेको भए यस्ता स्टान्ड वाई राखिएका उपकरणहरूसँग परिवर्तन गरी प्रयोग गरिने गरेको प्रवक्ता अधिकारीले बताए ।

सडक मर्मतसम्भार गर्न सरकारसँग ४२ वटा लोडर, जेसीभी टाइपको ब्याक होल्ड लोडर ३२ वटा, एस्काभेटर २५ वटा, ट्रिपर ३५ वटा, रोडबेड टेलरहरू १२ वटा लगायत हेभी उपकरण रहेका छन् ।

यस्ता सवारी साधन विशेष गरी बाढी पहिरो आउँदा र मर्मत सम्भारका बखत प्रयोग गरिने गरेको अधिकारीले बताए । उनले यसरी दशैँअघि हुने मर्मतका लागि करोडभन्दा कम नै खर्च हुने बताए ।

 

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै Read Previous

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी