टेलिकमको ‘फाइबर टु द होम’ सेवा वालिङमा

काठमाडौं । नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई ‘एफटीटीएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ ।

नेपाल टेलिकम स्याङ्जाको वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटीटीएच’ सेवा सुरु गरेको हो । नगरपालिकाभित्र ग्राहकलाई वितरण भएका पहिलाका तामाका तारहरुलाई विस्थापित गरी एउटै फाइबरबाट फोन, नेट र टिभी चलाउन सकिने सुविधासहितको सेवा सुरु गरिएको शाखाका प्रमुख नारायण कपालीले बताए।

‘तामाका तारमार्फत पहिलै वितरण गरिएका टेलिफोनलाई पहिलो चरणमा ‘एफटिटिएच’ प्रविधिमा परिवर्तन गरेका छौँ,’ उनले भने, ‘जडानमा रहेका पुराना टेलिफोनलाई उक्त प्रविधिमा रुपान्तरण सकेपछिमात्रै दोस्रो चरणमा नयाँ लाईनहरु जडान गर्नेछौँ ।’

भदौको दोस्रो साताभित्रमा पुराना लाइनलाई नयाँ सेवामा परिवर्तन गरेर सकिने र दसैँअगावै नयाँ लाइन पनि जडान गर्ने गरी तीव्ररुपमा काम अगाडि बढेको उनले जानकारी दिए ।

तामाको तारमार्फत वितरण गरिएको टेलिफोनबाट सञ्चालन भएको ‘एडिएसएल’ सेवा तीव्र गतिको नभएकै कारण सेवाग्राहीले सेवा लिन छाडेसँगै टेलिकमले नयाँ प्रविधिसहितको ‘एफटीटीएच’ सेवा भित्र्याएको हो । ‘एफटीटीएच’ सेवा भित्र्याएसँगै सेवाग्राहीले टेलिफोन लाइन जडानका लागि निवेदन दिने बढ्दै गएको उनले बताए ।

तामाको तारमार्फत वितरण गरिएका टेलिफोन लाईन करीब एकहजार छन् । तामाको तारमार्फत टेलिकमले उपलब्ध गराएको ‘एडीएसएल’ सेवाको गति कम भएकैकारण यसअघि केही ग्राहकहरुले सेवा लिन छोडे पनि अहिले फेरि आकर्षण बढेको उनले बताए।

‘एफटीटीएच’ सेवा जडानका लागि कार्यालयले सामान्यदेखि तीव्र गतिको इन्टरनेट सेवा, तीन सय मिनेट निःशुल्क टेलिफोन सेवा, जडानमा एकसय मिटर ड्रप फाइबर निःशुल्क, सीपीई (राउटर) निःशुल्कजस्ता विभिन्न प्याकेज अगाडि सारेको छ । कम्पनीले ग्राहकका लागि तीव्र गतिको इन्टरनेट सेवा, टेलिफोन सेवा र टेलिभिजन सेवा ‘ट्रिपल प्ले’ सुविधा दिएसँगै थप आकर्षित भएका हुन् ।

शाखाले वालिङ नगरपालिकाका विभिन्न बजारसहित दक्षिण स्याङ्जाको चापाकोट नगरपालिका र दक्षिण पर्वतको हातेमालो चोकमा सो सेवा दिँदै आएको शाखाले जनाएको छ ।

अनधिकृत संरचनामा बालेनको 'एक्सन', काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो डोजर Read Previous

अनधिकृत संरचनामा बालेनको 'एक्सन', काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो डोजर

चालु पूँजी कर्जामा कडाइ : उद्योग, व्यसायमा कस्तो पर्छ असर ? Read Next

चालु पूँजी कर्जामा कडाइ : उद्योग, व्यसायमा कस्तो पर्छ असर ?