काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले किसान परिचय पत्र हुनेलाई मल र बीउको ग्यारेन्टी हुने बताएका छन् । बीउ बैंक र गाउँपालीकाको माध्यमबाट परिचयपत्र प्राप्त भएका किसानलाई परिचय पत्रका आधारमा बीउ र मलको ग्यारेन्टी गरिने बताए ।
‘परिचय पत्रमा किसानको कृषि जमिन, परिवार र वर्ग छुट्याइएको हुन्छ, त्यही अनुसार उनीहरुलाई विधिवत ढंगले बीउ र मल उपलब्ध गराइने छ,’ मन्त्री खनालले भने ।
मंगलबार आयोजित किसान आयोगको वार्षिक समिक्षा तथा प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले किसानले बीउ बैंकमार्फत कसैले बदमासी गर्न नसक्ने गरी परिचय पत्र देखाउना साथ कम्प्यूटरबाट उनीहरुको जग्गा तर्जुमा गरी मल तथा बीउ वितरण हुने बताए ।
बीउ ‘बीउ बैंक’बाट नै वितरण गरिने छ, भने मल गाउँपालीकाबाट वितरण गरिने उनले बताए । त्यसका लागि सुरुमा यो आवमा ७ वटा जिल्लाबाट परिचय पत्र मार्फत किसानलाई बीउ र मल वितरणको काम सुरु गरिने योजना मन्त्रालयले बनाएको छ ।
परिचय पत्र वर्गीकरण
किसानको वर्गिकरण गरी पहिचान गर्ने र अनुदानको विषय अझै पनि अर्थ मन्त्रालयमा अल्झिरहेको छ । कृषि अनुदानका लागि २१ करोड रुपैंयाँ बजेट विनियोजन गरिएको छ । परिचय पत्रमा ३ प्रकारका किसान छुट्याइने छन् । निम्न वर्गीय किसान, मध्यम वर्गीय किसान र उच्च वर्गीय किसान ।
परिचयपत्रमा किसानको जमिन र अवस्थाको जानकारी राखेर वितरण गरिने छ । त्यसको व्याकअप किसान बैंक तथा गाउँपालीकामा राखिने छ । त्यस मार्फत उनीहरुको जमिन तथा आवश्यकताको पहिचान गरी बीउ तथा मल वितरण गरिने छन् ।
अनुदानको कार्यविधि र नियुक्ति मापदण्ड अलपत्र
कृषि मन्त्रालयले ५० प्रतिशत अनुदानको कार्यविधि र नियुक्ति गर्ने मापदण्ड अझै अलपत्र रहेको छ । १ वर्षदेखि प्रक्रियामा रहेको मापदण्ड समितिबाट कानुन मन्त्रालय पुगेपनि अझै पास हुन सकेको छैन ।
‘समितिले कानुन मन्त्रालयमा छ भन्छ, कानुनमा बुझन पठाउँदा लेख्दैछौँ भन्छन् । अनि कृषि मान्त्रालयको सचिव र मन्त्री एउटा कार्यविधि बोकेर कति समय झुली रहने’ मन्त्री खनालले भने ।
कृषि क्षेत्र परिवर्तनका लागि एक ‘क्लिक’
कृषि मन्त्री खनालले कृषि क्षेत्र परिवर्तनका लागि एक ‘क्लिक’ थिच्न मात्र बाँकी रहेको बताए । उनले त्यो क्लिक कहाँनिर गर्ने आफुले समेत खोजिरहेको बताए ।
‘परिवर्तन गर्न सकिन्छ तर, त्यो कहाँबाट सुरु गर्ने भन्ने म खोजी रहेको छु, त्यो एक क्लिकले कृषिलाई परिवर्तन गर्न सहयोग पु¥याउने छ,’ मन्त्री खनालले भने ।
९ वटा तरकारी बजार बनाउन डीपीआर निर्माण सुरु
९ वटा तररकारी बजार निर्माणका लागि डीपीआर निर्माण सुरु भइसकेको मन्त्री खनालले जानकारी दिए । सो बजारमा किसानले सिधै तरकारी तथा आफ्नो उत्पादन लान सक्ने छन् । यसो गर्दा बिचौलियाले बीचमा ठाउँ नपाउने उनले दाबी गरे ।
किसान आफै बजारसम्म पुग्न नसक्नाले बिचौलिया आफै निम्तिएको भन्दै यसलाई ति बजारले हटाउन सहयोग गर्ने उनको दाबी थियो ।
कृषि अनुसन्धान फितलो
मन्त्री खनालले नेपालमा अनुसन्धान फितलो भएको बताएका छन् । उनले अनुसन्धान फितलो हुनुका कारण नीतिगत समस्या पनि एक रहेको बताए ।
‘नेपालमा अनुसन्धान राम्रो छैन, त्यहाँ सुधार गर्नु पर्र्यो, एउटा ऐन संसोधन गरे काफी हुन्छ,’ मन्त्री खनालले भने । उनले विगतमा पनि अनुसन्धान भएको र २/४ वटा कुरा मात्र व्यवस्थित गर्न सके अनुसन्धानलाई राम्रो बनाउन सकिने उनले बताए । उनले विश्वबिद्यालय बनाएर स्वतन्त्र अनुसन्धान गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।
‘स्वतन्त्र काम गर्ने अवस्था सृजना हुनुपर्छ, साधनस्रोत व्यवस्थित गर्नुपर्यो र त्यो अनुसन्धान किसानसँग जोडिनु पर्यो,’ मन्त्री खनालले भने । ‘नार्क’ राम्रो संस्था थियो, बीचमा गडबड भयो, अब यसलाई अझ राम्रो बनाउनु पर्छ भन्दै उनले नार्कलाई बलियो बनाएर लैजानेमा जोड दिए । परनिर्भरतालाई तोड्दै हाइब्रिड बिउ उत्पादन तर्फ अघि बढ्नुपर्ने उनले बताए ।