काठमाडौं । सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । मंगलबार २४ अंकले घटेको नेप्सेमा आज १ अंकभन्दा कमको गिरावट आएको हो ।
सूचकमा झिनो गिरावट आए पनि आज कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै आधाले घटेर डेढ अर्बभन्दा कममा सीमित भएको छ ।
बुधबार नेप्से ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा आइपुगेको छ । यसदिन २२० कम्पनीको १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ वटाको परिसूचक हरियाली भएको छ भने ६ समूहको राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ०.६८ प्रतिशतले बढेको छ भने जीवन बीमा ०.४८ प्रतिशतले घटेको छ ।
आज पनि रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट झन्डै ७ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले घटेको बजारमा आज ५ कम्पनीकोसेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ । त्यस्तै, मन्दाकिनी हाइड्रोपावर, अपर हेवाखोला, अपर सोलु हाइड्रो पावर सपोर्ट लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।