सहकारीलाई घरजग्गामा लगानी गर्न रोक, लाभांश बाँड्न नपाउने, यस्तो छ ११ बुँदे निर्देशन

काठमाडौं। एकपछि अर्को सहकारी टाट पल्टिँदै गएपछि सहकारी विभागले कडाइ गर्न थालेको छ । विभागले मंगलबार सहकारी संस्थाहरुका लागि मंगलबार एकीकृत निर्देशन जारी गर्दै लाभांश वितरण, कर्जा लगानी, कर्मचारीलाई बोनस वितरण लगायतमा लमाग लगाएको हो ।

सहकारीहरुले जथाभावी सेयर, घरजग्गा लगायतमा ऋण लगानी गरेर डुब्न थालेपछि विभागले कर्जा लगानीमा कडाइ गरेको छ । विभागले सहकारीहरुलाई घरजग्गा लगायत स्थिर सम्पत्तिमा लगानी गर्न रोक लगाएको हो ।

विभागले कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स-साना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरुमा (मुख्यगरी घरजग्गा) कर्जा लगानी नगर्न कडा निर्देशन जारी गरेको छ।

यस्तै, विभागले संचालन घाटामा रहेका संस्थाहरुले नाफामा सञ्चालन नहुन्जेलसम्म सेयर लाभांश र कर्मचारी बोनस कोषको रकम वितरण नगर्न निर्देशन दिएको छ ।

यसैगरी, सहकारी संस्थाहरुलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन विभागले भनेको छ।

सहकारी संस्थाको सञ्चालन तथा नियन्त्रण यसको सदस्यहरुले नै गर्ने भएकोले संस्थाका सबै गतिविधिहरुमा जानकारी राख्ने, समस्या समाधानमा सहभागी हुने, साधारणसभामा सक्रियतापूर्वक भाग लिने, विस्तारित मंचको बैठकमा भाग लिने, संस्थामा सदस्यको हैसियतले नियमित बचत गर्ने र लिएको कर्जा समयमै चुक्ता गर्न पनि निर्देशनमा उल्लेख गरिएको छ ।

यस्तै, विभागले केन्द्रीय संघरसहकारी बैंकका आफू सम्बद्ध प्रारम्भिक संस्थाहरुसँग निरन्तर छलफल र संवाद गर्ने, आवश्यक पूर्व सजगता सहितका निर्देशनहरु जारी गरी कार्यान्वयन गर्ने गराउने । आफूसँग आवद्ध नभएका संस्थाहरुलाई समेत विश्वासमा लिई संस्थागत सुशासन प्रकृयामा सहभागिता अभिवृद्धि गर्न निर्देशन पनि दिएको छ ।

यस्तै, आफूमा आवद्ध संस्थाहरुको निरन्तर सुक्ष्म निगरानी राखी सम्भाव्य समस्या समाधानका लागि आवश्यक पहल गरी संभव भएसम्म कोषको व्यवस्थापन गर्ने, केन्द्रीय संघहरु माफर्त सञ्चालित स्तरीकरणका कार्यक्रमहरुमा सहभागिता गराउने, सहकारी शिक्षा तथा तालिमका विषयहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।

 

आजदेखि सिंहदरबारमा ग्यास लैजान नपाइने, मन्त्रालयका क्यानटिनमा अब विद्युतीय चुल्हो Read Previous

आजदेखि सिंहदरबारमा ग्यास लैजान नपाइने, मन्त्रालयका क्यानटिनमा अब विद्युतीय चुल्हो

घरजग्गा कारोबारमा उच्च गिरावट, किनबेच आधा घट्यो Read Next

घरजग्गा कारोबारमा उच्च गिरावट, किनबेच आधा घट्यो