काठमाडौँ । नेपाली सेयर बजारमा रियल सेक्टर (वास्तविक क्षेत्र)का कम्पनीहरू एकदमै न्यून मात्रमा रहेका छन् । सेयर बजारको दुई तिहाई बढी हिस्सा बैंक तथा वित्तीय संस्थाहरूले ओगटेका छन् ।
बाँकी हिस्सा जलविद्युत् कम्पनी, व्यापार क्षेत्रका, होटल लगायत क्षेत्रको रहेको छ । नेप्सेमा विभिन्न १३ क्षेत्रका कम्पनीहरू सूचीकृत छन् । जसमा रियल सेक्टरका कम्पनी मुस्किलले १ दर्जन पनि छैनन् । अर्थतन्त्रको ऐना भनिए पनि सेयर बजारमा बैंक र वित्तीय संस्थाहरूको मात्र दबदबा र वास्तविक क्षेत्रका कम्पनीको उपस्थिति नगन्य रहेको छ ।
तर, पछिल्लो समय रियल सेक्टर क्षेत्रका कम्पनीहरू सेयर बजारमा आउन चासो देखाएका छन् । नियामक निकायहरूले गरेको व्यवस्थाका कारण यस क्षेत्रका कम्पनीहरू पनि सेयर बजारमा आउन इच्छुक देखिएका छन् ।
मुख्य गरी नेपाल धितोपत्र बोर्डले रियल सेक्टर क्षेत्रका कम्पनीहरूले प्रिमियम मूल्यमा सेयर जारी गर्न पाउने व्यवस्था गरेसँगै रियल सेक्टर क्षेत्रका (सिमेन्ट, डण्डी, अस्पताल, दूरसंचार सेवा प्रदायक लगायत कम्पनीहरू) सेयर बजारमा इन्ट्री मार्ने बाटोमा रहेका छन् ।
सरकारले पनि रियल सेक्टर क्षेत्रका कम्पनीहरूलाई सेयर बजारमा ल्याउन विभिन्न नीतिगत व्यवस्थाहरू गरेको छ । यस क्षेत्रका कम्पनीलाई सेयर बजारसँग जोड्न कम्पनीले केही प्रोत्साहनमूलक र केही बाध्यकारी व्यवस्था समेत गरेको छ ।
सरकारले चालु आवको बजेटमार्फत वार्षिक ५ अर्ब बढीको कारोबार गर्ने, १ अर्ब रुपैयाँ बढी चुक्ता पूँजी भएको, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी र राज्यबाट अनुदान, सहुलियत तथा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूले आइपीओ निष्कासन गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
यस व्यवस्थापछि यी ४ शर्तमध्ये एउटा जुनसुकै शर्त पुगेका कम्म्पनीहरू अनिवार्य पूँजीबजारमा आउनु पर्नेछ । जसले अर्थतन्त्रको रियल सेक्टर पूँजी बजारको दायरामा आउने र सर्वसाधारणको सक्रियता बढ्ने अपेक्षा गरिएको छ । सरकारको यस व्यवस्थाले झन्डै १०० हाराहारी कम्पनीहरू सेयर बजारमा आउनै पर्ने देखिएको छ ।
सो व्यवस्थाले आधा दर्जन बढी स्टील उद्योग, सिमेन्ट उद्योग तथा विभिन्न वास्तविक कम्पनीहरू सेयर कारोबारमा आउने भएका छन् ।
बोर्डमा ६ कम्पनीको आवेदन
हाल रियल सेक्टरका झन्डै १ दर्जन बढी कम्पनीहरू सेयर बजारमा आउने अर्थात् सर्वसाधरणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइसकेका छन् ।
तीमध्ये आधा दर्जन कम्पनीले विक्री प्रबन्धक नियुक्त गरी थप प्रक्रिया अघि बढाएका छन् भने ६ वटा कम्पनीले सेयर जारी गर्न अनुमती माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डले अनुमती दिए लगत्तै ती कम्पनीले प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्न पाउने छन् ।
बोर्डमा अहिले रियल सेक्टर क्षेत्रका सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, डिश होम, टे«ेड टावर र मुक्तिनाथ कृषि कम्पनीले आवेदन दिएका छन् । यी मध्ये सर्वोत्तम सिमेन्टले बुकबिल्डिङ विधिबाट आइपीओ जारी गर्न अनुमती मागेको छ भने घोराही सिमेन्ट र रिलायन्स स्पिनिङले प्रिमियम मूल्य थप गरी आइपीओ जारी गर्न माग गरेका छ । अन्य कम्पनीले भने अंकित मूल्य १०० रुपैयाँमै आइपीओ जारी गर्न माग गरेका छन् ।
कुन कम्पनीको कति कित्ता आइपीओ आउँदै ?
हाल बोर्डमा रियल सेक्टर क्षेत्रका ५ कम्पनीले १ करोड ४६ लाख ५९ हजार कित्ता सेयर जारी गर्न अनुमति माग्दै आवेदन दिएका छन् । जसमा घोराही सिमेन्टले अंकित मूल्यमा प्रिमियम थप गरी स्थानीयका लागि प्रतिकित्ता ४०० र सर्वसाधारणका लागि ४३५ रुपैयाँमा सेयर जारी गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्काशन गर्ने भएके हो ।
यसैगरी, रिलायन्स स्पिनिङ मिलले पनि प्रिमियम मूल्यमा ७ लाख ७० हजार ६४० कित्ता सेयर जारी गर्न बोर्डमा अनुमति दिएके छ । यस कम्पनीले प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्म प्रिमियममा आइपीओ निष्कासन गर्ने जनाएको छ ।
यसैगरी, सर्वोत्तम सिमेन्टले बुकबिल्डिङ मार्फत २४ लाख कित्ता सेयर निष्कासन गर्न आवेदन दिएको छ । यस कम्पनीले प्रतिकित्ता सेयर मूल्य ५०१ देखि ७५१ रुपैयाँको रेन्जमा रहने जनाएको छ ।
यसैगरी, ट्रेड टावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता सेयर जारी गर्ने भएको छ ।
यस्तै, मुक्तिनाथ कृषि कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । डिश मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार रुपैयाँ बराबरको २३ लाख ८५ हजार कित्ता सेयर जारी गर्ने प्र्रस्ताव गरेको छ ।
रियल सेक्टरका अन्य कम्पनीहरू विभिन्न स्टिल उद्योग, कान्तिपुर मिडिया, नर्भिक हस्पिटल, एनसेल लगायत आइपीओ निष्काशनको तयारीमा छन् ।