काठमाडौं । विद्युत् वितरण तथा प्रसारणका लागि महत्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले प्रगति गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा कुल ७५३ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरेको छ । प्रसारण लाइन तथा वितरण लाइन निर्माणमा रणनीतिक रुपमा अगाडि बढिरहेको प्राधिकरणले आफ्नो लक्ष्यअनुसार नै काम भएको जनाएको छ ।
ग्रीड सबस्टेशनको क्षमता ७०४ एमभीए बराबर थपिएको छ । प्रसारण लाइनको रुट परिवर्तनको माग, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृति प्रक्रियामा भएको ढिलाइ, विकट भौगोलिक अवस्था जस्ता कारणले जीर्ण बनेको सोलु करिडोर १३२ केभी क्षमताको ९० किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ ।
अरुण र तमोर नदी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न नेपालको हालसम्मको सबभन्दा लामो दूरीको कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
सो प्रसारण लाइनबाट तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणको भनाइ छ ।
सो आवमा मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौँको मातातीर्थसम्मको कुल ८२ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई हाल १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । नयाँ मोदी पर्वत–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन पनि सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
लामो समयदेखि जीर्ण बनेको भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन अधिकांश भाग निर्माण सम्पन्न भई सञ्चालन भएको छ । रुपन्देही भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । प्रसारण लाइनको निर्माणसँगै करिब २ मेगावाट विद्युत् प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको छ ।
मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि भारतसँगको विद्युत् व्यापारका लागि थप प्रसारण सञ्जाल तयार हुनेछ ।
आव २०६५/६६ मा सुरु भई विभिन्न समस्या झेल्दै जीर्ण बनेको ४० किलोमिटर लामो सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । कुसाहा–विराटनगर १३२ केभी, इनरुवा–विराटनगर १३२ केभी, ढल्केवार–बाँणगंगा १३२ केभी, खिम्ती–गज्र्याङ १३२ केभी र खिम्ती–बाह्रविसे– लप्सीफेदी ४०० केभी निर्माण सम्पन्न हुनेक्रममा छ । त्यस्तै बलेफि–बाह्रबिसे करिडोर १३२ केभी, चिलिमे–त्रिशूली २२० केभी, मस्र्याङ्दी करिडोर २२० केभी, कालिगण्डकी करिडोर २२० केभी, दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न हुने क्रममा छ ।
लेखनाथ–दमौली २२० केभी, डाँडाखेत–राहुघाट १३२ केभी, हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी, हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी, वर्दघाट– न्यू बुटवल २२० केभी, बर्दघाट–सार्दी ह्वाङ्सी १३२ केभी, मोतिपुर–गुल्मी–अर्घाखाँची १३२ केभी, कोहलपुर– नेपालगन्ज १३२ केभी, कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी, चमेलिया–स्याउले–अत्तेरिया १३२ केभी दोस्रो सर्किट प्रसारण लाइन लगायतका आयोजना निर्माणको विभिन्न चरणमा छन् । अधिकांश आयोजना आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुनेछन् ।
विद्युत् प्रसारणलाई अझ विस्तारित र भरपर्दो बनाउन थप आयोजनाको अध्ययन भइरहेको छ । न्यू बुटवल–लकही–कोहलपुर–न्यू अत्तरिया ४४० केभी, अरुण हब–तिंला हब–लिखु हब–न्यू खिम्ती–सुनकोशी हब–ढल्केबर ४०० केभी, बुढीगण्डकी करिडोर ४०० केभी, दमौली–कुश्मा–बुर्तिबाङ–बाफिकोट ४०० केभी, तुम्लिङटार–सितलपाटी २२० केभी, त्रिशूली–३ बी हब–रातमाटे २२० केभी, दैलेख–कालिकोटकोट–जुम्ला १३२ केभी प्रसारण लाइन अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेको प्राधिकरणको भनाइ छ ।
बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन कार्यान्वयनको चरणमा पुगेको छ । इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन तथा कोहलपुरदेखि उत्तरप्रदेशको नानपारा जोड्ने १३२ केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन पूरा भएको छ ।
यी पूर्वाधार बनेपछि नेपालमा खपत भई बाँकी विद्युत् भारतीय बजारमा वक्रिी गर्न थप सहज हुनेछ । नेपाल र चीनबीच विद्युत् प्रसार गर्न रातोमाटे रसुवागडी केरुङ ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणको लागि नेपालतर्फको लाइनको सम्भाव्यता अध्ययन पूरा भएका छ । यो आयोजना कार्यान्वयन गर्न लगानीको ढाँचामा छलफल भइरहेको छ ।