बैंक र विकास बैंकको नाफा उल्लेख्य बढ्दा फाइनान्स कम्पनीहरूको किन घट्यो ?

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा फाइनान्स कम्पनीको नाफामा भारी गिरावट आएको छ । वाणिज्य बैंक र विकास बैंकको नाफामा उल्लेख्य वृद्धि हुँदा फाइनान्स हरूको नाफामा ठूलो गिरावट आएको हो ।

गत वर्षमा फाइनान्स कम्पनीको नाफा औषतमा ३२.१६ प्रतिशतले घटेको छ । जबकी गत वर्ष वाणिज्य बैंक हरूको नाफा औषतमा २३ प्रतिशत र विकास बैंक हरूको औषतमा १५.२१ प्रतिशतले नाफा बढाएका छन् ।

अघिल्लो आवमा करिब १अर्ब ९७ करोड खुद नाफा कमाएका फाइनान्स कम्पनी हरूको नाफा गत वर्ष ६४ करोडले घटेर १ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्ले वर्ष औषतमा एउटा फाइनान्सले १३ करोड नाफा कमाएकोमा गत वर्ष औषतमा ९ करोडभन्दा कम नाफा कमाएका छन् ।

१५ वटा फाइनान्स कम्पनीमध्ये गत आवमा ९ वटा कम्पनीको खुद नाफा घटेको छ भने ६ फाइनान्सको मात्र बढेको छ ।

फाइनान्सको नाफामा किन आयो गिरावट ?

अघिल्लो वर्ष फाइनान्स कम्पनी हरूको गैरसंचालन मुनाफा उल्लेख्य बढ्दा मनग्ये नाफा कमाएका थिए । तर, गत वर्ष सेयर बजारमा गिरावट आएसँगै फाइनान्सको गैर संचालन नाफा घटेपछि खुद नाफामा पनि भारी गिरावट आएको छ ।

सेयर कारोबार गरेर अघिल्लो वर्ष राम्रो आम्दानी गरेका फाइनान्सले गत वर्ष नियमित व्यवसायबाट मात्र नाफा कमाउन नसकेका हुन् । अघिल्लो वर्ष करिब ३२ सयको बिन्दुमा पुगेको सेयर बजार घटेर हाल २ हजारमा सीमित भएको छ ।

नेपाल वित्तीय संस्था संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर यस वर्ष अन्य आम्दानी नहुँदा नाफामा गिरावट आएको बताउँछन् । ‘अघिल्लो वर्ष अन्य आम्दानी बढ्यो,त्यसकारण नाफा अर्जनमा सुधार भएको थियो,’ उनले भने, ‘गत वर्ष अन्य आम्दानी नहुँदा नाफा घटेको हो । यो स्वभाविक नै हो, कहिले बढ्छ कहिले घट्छ ।’

वाणिज्य बैंकमा देखिएको तरलता अभावको समस्या फाइनान्स कम्पनी हरूमा पनि देखिएको छ । तरलता अभावको प्रभाव र सेयर कर्जामा राष्ट्र बैंकको कडाईका बाबजुत राष्ट्रिय स्तरका विकास बैंक र वाणिज्य बैंकको व्यवसाय विस्तारमा भने खासै प्रभाव देखिएन् ।

राष्ट्र बैंकले गत आवको मौद्रिक नीति मार्फत ४/१२ को सीमा लागू गरेको थियो भने मार्जिन कर्जाको जोखीम भार शतप्रतिशतबाट बढाएर १५० प्रतिशत कायम गरेको छ । जसको कारण पनि विगतमा सेयर बजारमा लगानी गदै आएका फाइनान्स कम्पनी हरूले गत वर्ष सेयरमा लगानी गर्न पाएनन् ।

आफ्नै व्यवसाय विस्तार मार्फत खुद नाफा आर्जन गर्न सफल वाणिज्य बैंकको ब्यालेन्स सिटमा असर देखिएको छैन् । तर, विगतमा सेयर बजारमा लगानी गरेर गैरसंञ्चालन मुनाफाबाट नाफा कमाउने गरेका फाइनान्स कम्पनी हरूको व्यवसाय गत वर्ष ओरालो लागेको छ । खुद

९ कम्पनीको नाफा घट्यो ६ को बढ्यो

गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा बेस्ट फाइनान्स रहेको छ । यस संस्थाले १०२.९६ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवमा ८ करोड ८३ लाख नाफा कमाएको संस्थाले गत वर्ष १६ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको हो ।

दोस्रोमा नेपाल फाइनान्सले ८५ प्रतिशत नाफा बढाएको छ । यस संस्थाले अघिल्लो आवमा २ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत वर्ष ८५.२१ प्रतिशतले बढाएर ४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी,सम्वृद्धि फाइनान्सले ४२.२, प्रोग्रेसिभ फाइनान्सले २१.८६ प्रतिशत, गुडविल र आइसीएफसीले २/२ प्रतिशत बढी खुद नाफा आर्जन गरेका छन् । सबैभन्दा धेरै मन्जुश्री फाइनान्सको ८०.९१ प्रतिशतले नाफा घटेको छ ।

मल्टिपर्सस ७३.६९,गोरखाज फाइनान्सको ५४.३८, रिलायन्स ४६.७८,सेन्ट्रल ४१.०५,जानकी ३२.१६, पोखरा २०.२७, श्री इन्भेष्टमेन्ट १९.३७ र गुहेश्वरी फाइनान्सको नाफा ३.९१ प्रतिशतले घटेको छ ।

वितरणयोग्य नाफामा गिरावट, लाभांश घट्ने

खुद नाफा घटेसंगै फाइनान्स कम्पनी हरूको वितरणयोग्य नाफामा पनि भारी गिरावट आएको छ । गत वर्ष नेपाल फाइनान्स बाहेक १४ वटा वित्तीय संस्थाको वितरणयोग्य नाफामा गिरावट आएको छ । जसको कारण सेयरधनीले पाउने लाभांश घट्ने देखिन्छ ।

अघिल्लो वर्ष फाइनान्स कम्पनीको वितरण योग्य नाफा डेढ अर्ब बढी रहेकोमा गत वर्ष जम्मा ५१ करोड रुपैयाँ छ । अघिल्लो वर्ष औषतमा १५ प्रतिशत हाराहारीमा लाभांश बाँडेका फाइनान्सले गत वर्षको नाफाबाट औसतमा ४ प्रतिशत हाराहारीमा मात्र लाभांश दिन सक्ने क्षमता छ ।

अघिल्लो वर्षको नाफाबाट अधिकतम ४० प्रतिशतसम्म लाभांश दिएका फाइनान्स कम्पनीले गत वर्षको कमाइबाट अधिकतम १० प्रतिशत मात्रै लाभांश दिन सक्नेछन् भने केहीले लाभांश नै दिन नसक्ने अवस्थामा छन् ।

गत वर्ष नेपाल फाइनान्स बाहेक १४ वटा वित्तीय संस्थाको वितरणयोग्य नाफामा गिरावट आएको छ । गत वर्ष फाइनान्स कम्पनीको  वितरणयोग्य नाफा ६७.४९ प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स कम्पनीको १०३.६० प्रतिशतले वितरणयोग्य नाफा बढेको छ भने बेष्ट फाइनान्सको सबैभन्दा धेरै ६८४.७९ प्रतिशतले घटेको छ ।

दोस्रोमा सम्वृद्धि फाइनान्सको ११९.५२ प्रतिशतले वितरणयोग्य नाफा घटेको छ । यसैगरी, प्रोग्रेसिभको ६४.०२, गुडविलको ४८.२९,आइसीएफसी ७.७९,गुहेश्वरी २०.२०, श्री इन्भेष्टमेन्ट १९.९२,पोखरा फाइनान्स ४०.१४ प्रतिशतले वितरणयोग्य नाफा घटेको छ ।

जानकी फाइनान्स ३२.१६,सेन्ट्रल फाइनान्स ४४.५२, रिलायन्स ८४.१७,गोरखाज ८१.८९, मल्टिप्रपोज ७३.६९ र मन्जु श्री फाइनान्सको ८१.४९ प्रतिशतले घटेको छ ।

 

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा Read Previous

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

असोज ६ देखि नाडा ईभी एक्स्पो हुने Read Next

असोज ६ देखि नाडा ईभी एक्स्पो हुने