काठमाडौं । सन् २०२२ को सात महिनामा झण्डै ३ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाइ महिनासम्म हवाईमार्ग भएर २ लाख ८५ हजार ३६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाइमा ४४ हजार चार६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाइ महिनामा ५८ हजार ८११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
जुलाइमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार २९९, बङ्गलादेशबाट १ हजार ८७४ पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट १ हजार ५९३ पर्यटक नेपाल आएका छन् । समग्रमा एसिया र अन्य मुलुकबाट ४ हजार १९५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसैगरी युरोपबाट ९ हजार १२१, मध्यपूर्वलगायत मुलुकबाट ३ हजार ७३५ र अमेरिकाबाट ५ हजार २२८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
कुन महिनामा कति पर्यटक भित्रिए
बोर्डका अनुसार जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४१ हजार ६, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७ र जुलाईमा ४४ हजार ४६२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डले छिमेकी मुलुक भारत, बङ्गलादेशसहित एसिया, मध्यपूर्वी एसियाका स्रोतबजारमा प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मकरूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको सङ्केत गरेको बताए ।
उनले पर्यटक बढोत्तरीमा भारत, बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे । निर्देशक लामिछानेले पछिल्लो समय भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का तथा एसिया र युरोपियनलगायत मुलुकबाट पर्यटक आगमन बढेको जानकारी दिए ।