काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारमा आज दोहोरो अंकको बढोत्तरी आएको छ । सूचक बढेपनि कारोबार रकमभने ह्वात्तै घटेको । सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम भने साढे १६ करोडमा सीमित भएको छ ।
सेयर बजार मापक सूचक नेप्से १०.४२ अंकले बढेर ११३५.५६ विन्दुमा पुगेको छ । आज १५७ कम्पनीको १६ करोड ८८ लाख २८ हजार ९२३ रुपैयाँको कारोबार भएको छ । ६ लाख ३३ हजार ९५१ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका ११ वटा समूहमध्येमा अन्य समूह बाहेक सबै समूहको सूचक बढेका छन् । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ७१.८६ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ९.८१अंकले बढेको छ ।
कारोबार रकमको आधारमा सनराइज बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको २ करोड १३ लाख ६० हजार २६५ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा प्रभु बैंक र नेपाल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । प्रभुको १ करोड ३१ र नेपालको १ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज यूनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.८८ प्रतिशतले बढेके छ भने माउन्टेन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.७० प्रतिशतले घटेको छ ।