
काठमाडौं । बालेन्द्र शाह (बालेन) ६१ हजार ७६७ जनाको विश्वास जितेर काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए । २०७९ जेठ १६ गते उनले दौरा, सुरुवाल, ढाका टोपीमा सजिएर चस्मा ढल्काउँदै सपथ ग्रहण गरे ।
राजनीतिक दलका नेताहरूको भाषण मात्र दिने र कार्यान्वयन कहिले नगर्ने प्रवृत्तिदेखि दिक्क भएका काठमाडौंवासीले यो पटक स्वतन्त्रलाई जिताए । झिनो आसा थियो, बालेन्द्र शाहले धेरै ठूलो काम नगरे पनि सडक पेटीमा थुप्रेका फोहोर उठाउँछन् र बाटोका खाल्डखुल्डी पुर्छन भन्ने ।
यस्तो अपेक्षा राख्नेमा म पनि थिएँ । र, मलाई याद छ बालेन्द्र शाहको पक्षमा समर्थन गर्दै भोटफर बालेन लेखेको र आफ्नै घर पेटिदेखि काठमाडौंमै घर भएका साथी भाइलाई ‘यो पटक बालेनलाई जिताउनु पर्छ, धेरै काम नगर्लान तर केही न केही त पकै गर्छन’ भन्दै हिँडेको हिजो जस्तै लाग्छ । अर्को कुरा बालेनको समर्थनको रूपमा मेरो सहकर्मीहरू र म जस्ता थुप्रैले सानो रकम भए पनि बालेन शाहलाई सहयोग गरेका थियौँ । कम्तीमा पनि सडकमा फोहोरको दुर्गन्ध सुँघ्दै नाक छोप्दै हिँड्नु नपरोस् भनेर ।
उनले मेयर पद जितेकोमा काठमाडौंका सबैले खुसीयाली मनाए । जसरी एउटा विद्यार्थीले एसईई पास गर्दा खुसी हुँदै लड्डु बाँड्दै हिँड्छ ठ्याक्कै त्यसैगरी । उनले आफू नियुक्त भएको एक हप्ता बन्चरेडाँडा पुग्ने, बैठक राख्ने, सार्वजनिक शौचालय जस्ता विषयमा निकै राम्रो निर्णय लिएका थिए ।
फोहोर व्यवस्थापनका लागि उनी भाैँतारिँदै गरेको देख्दा सडकमा जम्मा भएका फोहोर देख्दा अब त यो हट्छ भन्दै सधैं हिँड्थे । उनले फोहोर व्यवस्थापन समाधान भयो भनेको २ महिना बितिसक्यो । बालेन्द्र शाह मेयर भएर आउँदा फोहोरको हालत सडकमा जस्तो थियो, आज पनि त्यस्तै देखेँ । करिब १ हप्ता हुन लाग्यो म कार्यास्थल धाउने गौशलादेखि बानेश्वरको बाटोमा फोहोरको डंगुर चाङ लागेको छ । म फोहोर थुप्रिएको ठाउँ आउन लागेपछि लामो साथ भित्र तानेर सास नै रोक्दै हिँड्ने गर्छु ।
बालेन शाहलाई दिएको भोट र साथ खेर जाने होकी भनेर जनता आँत्तिन थालेका छन् । अब विस्तारै सबैको धैर्यताको बाँध फुट्न सक्छ । अझै पनि सरकारको ध्यान फोहोर व्यवस्थापनमा नपुग्ने हो र यसको समाधान नगर्ने हो भने अर्को पटकदेखि जनताले स्वतन्त्रलाई समेत विश्वास गर्न छाड्ने छन् ।
रुटिङ अनुसार उठेन फोहोर
काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि घरघरबाटै फोहोर कुहिने र नकुहिनेमा छुट्याएर उठाउने घाषणा गरेको थियो । तर, साउन १८ गते पुग्दा समेत काठमाडौं उपत्यकाका सडकका फोहोर सही समयमा उठ्न सकेको छैन ।
सडकमा फेहोर थुप्रिँदै गएका छन् । बेलाबेलामा परिरहेको पानीले फोहोरलाई यथातत्र छरप्रष्ट देखिन्छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फोहोर उठाउने काम भइरहेको बताए । उनले सबै स्थानमा एकै पटक फोहोर उठाउन नसकेको बताए ।
‘फोहोर उठाउने काम भइरहेको छ तर, एकै पटक सबै तिरको फोहोर उठाउन सकिएको छैन,’ उनले चाणक्य पोष्टसँग भने ‘पहिला एउटा गाडीले ३ ट्रिप गर्थ्यो, अहिले एक ट्रिप मात्र गरिरहेको छ ।’
उनले फोहोर फाल्न बन्चरेडाँडासम्म गाडी पुग्न समस्या भएका कारण दैनिक रुटिङ अनुसार फोहोर लगेर फाल्न नसकेको बताए ।आइतबार, मङ्गलबार, बिहीबार र शनिबार नकुहिने र सोमबार, बुधबार र शुक्रबार कुहिने फोहर संकलन गर्ने तालिका सार्वजिनक गरेकाे थियाे ।
विगतमा ६ सय ट्रिप फोहोर उठाउने गरेको उनले बताए । अहिले फोहोर उठाउने गाडीहरूले दिनमा एक ट्रिप मात्र फोहोर उठाउने गरिरहेका हुन् । विगतमा महानगरले दैनिक ३ सय ट्रकसम्म फोहोर उठाउने गरेको थियो भने अहिले ६० ट्रक फोहोर मात्र उठिरहेको हो ।
सडकमा भएका थप फोहोरहरू उठाउने काम महानगरले गर्न सकेको छैन । ४/५ दिनदेखि सडकमा रहेका फोहोर यथावत छन् । ‘रेगुलर फोहोर उठिरहेको छ, थप फोहोर नउठेको हो त्यो पनि भर्खर उठाउन थालेका छाैँ,’ मानन्धरले भने ।
उनका अनुसार महानगरले बन्चरेडाँडामा फोहोर पुर्याएर एकै पटक स्याग्रीगेसन (विभाजन)को काम गरिरहेको छ । कुहिने फोहोरलाई टेकुमा रहेको ग्यास प्लान्टमा राख्न ठाउँ खाली गरिँदै गरिएको उनले बताए ।
टेकु ग्यास प्लान्टमा थुप्रेको फोहोर खालि गर्न सके त्यहाँ रहेको क्षेत्रलाई फोहोर छुट्याएपछि कुहिनेलाई ग्यासमा परिणत गर्न सकिने उनले बताए । उनका अनुसार हाल महावीर पुनद्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्रबाट मेसिन तयार गरिँदै छ । उक्त मेसिन महानगरले चलाउनेछ ।
महानगरले विगतमा भने जस्तै समयमा वर्गीकरण गरेको फोहोर समेत उठाउन नसकेको हो । घरधनीहरूले आफ्नो घरमा विभाजन गरेको फोहोर समेत उठाउन महानगर नपुगेको घरधनीहरूको गुनासो छ ।महानगरले भने जसरी विभाजन गरेको फोहोर छुट्टै उठाउन गाडी नआएको काठमाडौंवासीको गुनासो रहेको छ ।
घर्कियो समय, तर भेटिएन ठाउँ
बन्चरेडाँडाका स्थानीयले १ भदौदेखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका छन् । गत जेठमा काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र स्थानीय बीच भएको सम्झौता पूर्ण कार्यन्वय नभएको भन्दै स्थानीले भदौदेखि फोहोर फाल्न नदिने घोषणा गरेका हुन् ।
मेयर शाहले पनि त्यतिबेला असार भित्रै काठमाडौंमा कुहिने फोहोर व्यवस्थापन गर्ने ठाउँ टुंगो लगाइसक्ने बताएका थिए । उनले यस्तो बताएको झन्डै २ महिना बित्न लागे पनि अझै फोहोर व्यवस्थान पन गर्ने ठाउँको टुंगो लाग्न सकेको छैन ।
अहिले वर्षाका कारण बञ्चरेडाँडा जाने सडक बिग्रिँदा फोहोर उठ्न सकेको छैन भने भदैदेखि स्थानीले फ्याँक्न दिएनन् भने कहाँ व्यवस्थापन गर्ने ? महानगरले करिब दुई महिनामा नभेटेको फोहोर व्यवस्थापन गर्ने ठाउँ अब दुई सातामा भेट्ला ? यदि, स्थानीयको विरोध र महानगरले पनि ठाउँ भेटेन भने काठमाडौं झन् फोहोरको डंगुरमा डुब्ने निश्चित छ ।
मेयर शाह फोहर व्यवस्थापनका लागि सक्रिय भए पनि दुई महिनासम्म परिणाममुखी नतिजा आउने संकेत देखिएको छैन । महानगर आफैले बनाएको कार्ययोजना समेत प्रभावकारी कार्यन्वयन गर्न सकेको छैन । कतै बालेनले चुनाव अघि गरेका बाचा अधुरै त रहने होइन । मलाई शंका र डर दुवै लाग्न थालेको छ ।
आजकाल लाग्दैछ यो काठमाडौंको फोहोर जुन माइकललाल आए पनि व्यवस्थापन गर्न सक्दैनन् ।