छिमेक लघुवित्तको खुद नाफा १ अर्ब माथि, लाभांश क्षमता कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २१.४३ प्रतिशतले घटेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ करोड रुपैयाँ कम हो । अघिल्लो आवमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी बढे पनि संचालन मुनाफा घट्दा र इम्पेरमेन्ट चार्ज बढेसँगै खुद नाफामा गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.६९ प्रतिशतले बढेर २ अर्ब ४९ रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२.५९ प्रतिशतले घटेर १ अर्ब ६० करोडमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तले २७ अर्ब १ करोड करोड निक्षेप संकलन र ४ अर्ब ७७ करोड सापटी लिइ कुल ३२ अर्ब ८८ करोड कर्जा प्रवाह गरेको छ । हाल २ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ९ करोड, रिटेन्ड अर्निङमा १ अर्ब ४५ करोड र सेयर प्रिमियममा ४ करोड रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ७६ करोड ४३ लाख रुपैयाँ छ । जसबाट सेयरधनीलाई ३३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २७.३८ रुपैयाँले घटेर ४४.४२ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २५४.२० रुपैयाँ, खराब कर्जा ०.८३ प्रतिशत र मूल्य आम्दानी अनुपात २४.७७ गुणा रहेको छ ।

महिला लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी नै १०० माथि Read Previous

महिला लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी नै १०० माथि

सयपत्री हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

सयपत्री हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन