Advertisement Section

कोदोको ब्रान्डिङमा स्थानीय तह, ‘कोदो हब’ बन्दै मकवानपुरगढी

Advertisement Section

काठमाडौं । अधिकांश नेपालीको भान्छामा बिहानबेलुका भात पाक्छ । प्रायजसोः नेपालीलाई भात नखाइ चित्त बुझ्दैन । केही दशक अघिसम्म भात खान सक्नुलाई प्रतिष्ठाको रूपमा समेत लिइन्थ्यो ।

नेपालीको जिब्रोमा पनि ढिँडो, पिठोभन्दा चामलको भात नै स्वादिलो हुने गरेको छ । तराईदेखि हिमालसम्ममा सबै नेपालीले भातै खाने गरेका छन् ।यद्यपि, ग्रामीण क्षेत्रमा भने पिठो खानेहरु पनि धेरै छन् ।

भातका लागि वर्षेनी अर्बौं रुपैयाँ विदेशिने गरेको छ । नेपालमा उत्पादन हुने धानले मात्र नपुगेर वर्षेनी अर्बों रुपैयाँको चामल आयात हुँदै आएको छ । गत वर्ष मात्रै चामल आयतका क्रममा ४५ अर्ब रुपैयाँ विदेशिएको छ । चामलको खपत वर्षेनी बढ्दो क्रममा छ ।

केही दशकअघिसम्म मुख्य खाद्यबालीको रूपमा लिइले कोदो अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । नेपालको अधिकांश पहाडी र हिमाली क्षेत्रमा खेती हुँदै आएको कोदो नगन्य मात्रमा खेती हुन थालेको छ भने सो पनि घट्दो क्रममा छ ।

नेपालमा हाल २ लाख ६३ हजार हेक्टरमा मात्रै कोदोखेती हुने गरेको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । वार्षिक ३ लाख २१ हजार मेट्रिकटन कोदो उत्पादन हुने गरेको छ । चामल र मकैभन्दा पनि फाइदाजनक भए पनि यसको खेती भने घट्दो क्रममा छ ।

ग्रामीण क्षेत्रमा मानिसले मात्र खाने कोदो पछिल्लो समय सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरूको पनि रोजाइमा पर्न थालेको छ । विशेषगरी मधुमेहका बिरामीहरूले भात खान छाडेर मकै, कोदो खान थालेको बताइन्छ ।

भातमा कार्बोहाइटेड बढी र क्यासियम कम हुन्छ भने कोदोमा क्याल्सियम बढी र कार्बाेहाइटेड कम हुन्छ । यसकारण पछिल्लो समय बजारमा कोदोको माग बढ्दै गएको छ । नेपालमा थोरै उत्पादन हुने भएकाले विदेशबाट समेत आयात हुने गरेको छ ।

कोदो ‘हब’ बन्दै मकवापुरगढी

कोदो नेपालका पहाडी तथा हिमाली क्षेत्रमा उत्पादन हुन्छ । मकै, धान, गहुँभन्दा कोदोखेती गर्न झन्झटिलो हुने भएकाले यसको खेती क्रमशः घट्दै गएको छ ।

सरकारले धान, गहुँ लगायत बालीको न्यूनतम समर्थन मूल्य तोकेर खेतीगर्न कृषकलाई आकर्षित गर्ने गरेको छ । तर, रैथाने बालीको रूपमा चिनिने सरकारको प्राथमिकतामा पनि पर्न सकेको छैन ।

यसैबीच, मकवानपुरको मकवानपुरको गढी गाउँपालिकाले भने कोदोको ब्राडिङ गर्न गाउँपालिकालाई नै कोदो हब बनाउने योजना अघि सारेको छ । गाउँपालिकाका कृषि शाखा अधिकृत चन्द्रकान्त चौधरीले लोपोन्मुख हुँदै गएको कोदोखेती बढाउन पालिकाले कोदो हब घोषणा गरिएको बताए ।

किसानलाई कोदो खेतीमा आकर्षित गर्न कृषकले उत्पादन गरेको कोदो सहकारीले किन्ने व्यवस्था गरिएको उनले बताए । उनका अनुसार मकवानपुरमा ३ हजार हेक्टरमा कोदो खेती हुने गरेको बताउँछन् । उक्त क्षेत्रफलमा प्रतिहेक्टर १ टन कोदो उत्पादन हुन्छ । जस अनुसार ३ हजार टनसम्म कोदो मकवानपुरमा उत्पादन हुँदै आएको उनले बताए ।

‘कोदो नेपालको रैथाने बाली हो, यो सबै खालको माटोमा उत्पादन गर्न सकिन्छ । मकै फल्न नसक्ने ठाउँमा समेत कोदो उत्पादन गर्न सकिन्छ,’ चौधरीले चाणक्य पोष्टसँग बताए ।

कोदो विशेष गरेर गाउँमा ढिडो खान र रक्सी बनाउने चलन बढी छ । तर, चौधरी कोदोको पिठो प्रयोग गरेर धेरै परिकारहरू बनाएर खान सकिने बताउँछन् । उनका अनुसार कोदोको हलुवा, मम, विस्कुट, पुवा, रोटी, पाउरोटी सबै प्रकारका वस्तुहरू उत्पादन गर्न सकिन्छ ।

उनी कोदोमा पोषण तत्व धेरै भएकाले चामलको भात खानुभन्दा कोदोको परिकार बनाएर खानु धेरै फाइदाजनक रहने बताउँछन् । मकवानपुरगढी गाउँपालिकाले २ वर्षदेखि कोदोको मूल्य तोकेर खरिद तथा विक्री गरिरहेको छ । प्रतिकेजी ४३ देखि ४८ रुपैयाँ मूल्य तोकेर सहकारीमार्फत कोदो विक्री तथा खरिद गर्ने काम भइरहेको उनले बताए ।

मकवानपुरको वडा नम्बर ४ को अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले १२ मेट्रिकटन कोदो किसानबाट किनेर विक्री गरेको उनले बताए । अहिले ६ मेट्रिकटन पिठो र दाना बेचिसकेको उनले बताए ।

कोदो १५ वर्षसम्म भण्डारण गरेर राख्दा समेत नकुहिने भएकाले यसको भण्डारणमा समेत निकै सहज भएको उनको भनाइ छ । सहकारी संस्थाले भण्डारण भवन बनाउने र उद्योग बनाएर कोदोको गुणस्तर परीक्षण गरी बजारसम्म पुर्याउने तयारी भइरहेको बताए । उनका अनुसार कोदो विक्रीका लागि उद्योग र भण्डारण दुवै निर्माण भइसकेको छ ।

यो वर्षदेखि मकवानपुरको कोदो ब्राण्डिङ गरेर बजारमा जाने उनले बताए । सहकारीको भवनमा विगतमा कोदो राखेर विक्री गरिँदै आएको थियो । विद्युतबाट चल्ने कट्टासहितको मिल घर र भण्डारण भवन निर्माण गरिसकेको छ । विगतमा ४ वडामा मात्र लक्ष्य गरेर गरे पनि अब सबै वडालाई लक्षित गरेर यो वर्ष २० टन कोदो संकलन गरी बजारीकरण गर्ने लक्ष्य रहेको उनले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नयाँ भवन बनाएपछि मात्र अनुज्ञा पत्र दिने भनेकाले अब अनुज्ञा पत्र पाएपछि मात्र कोदोलाई बजारीकरणमा लग्न सकिनेछ । ‘हामीले ४ नम्बर वडाबाट कोदो उठाउन सुरू गरेको हौं अब विस्तारै सबै वडाबाट कोदो किनेर ग्रेडिङ गरेर बजारसम्म पुरर्याउने छाैं चौधरीले चाणक्य पोष्टसँग भने ‘हामीले कोदोको परिकार मकवानपुरका होटल तथा रेष्टुरेन्टहरूमा समेत राखेर यसको प्रमोट गर्ने सोचेका छाैं ।’

सरकारले धान र गहुँको मूल्य तोके पनि कोदोको मूल्य भने तोकेको छैन । हरेक पर्वमा भातलाई प्राथमिकता दिने समाज र संस्कारलाई परिवर्तन गर्दै अब कोदोको उत्पादन बढाउँदै यसको उपभोग समेत बढाउन तिर लाग्नु पर्ने उनी बताउँछन् ।

‘कोदो खाद्यान्न माात्र होइन, औषधी पनि हो’

किसान आयोगका सदस्य एवं प्रवक्ता जिवन्ती पौडेलले कोदो नेपालको महत्वपूर्ण खाद्यान्न हो तर यो लोप हुने अवस्थामा पुगेको बताइन् । कोदो खाद्यान्न बाली मात्र नभई औषधी पनि भएको भन्दै यसमा सबै प्रकारको पोषणयुक्त वस्तुहरू पाउने उनले बताइन् ।

कृषि तथा कोदोबाली विज्ञ छवि पौडेलले कोदोे उत्पादन गर्न निकै सजिलो भएकाले यसको उत्पादनमा जोड दिइ बजारसम्म पहुँच पुर्याउन सुझाव दिएका थिए ।

अन्तर्राष्ट्रिय रूपमा कोदो दिवस मनाउने घोषण

नेपालमा गत वर्ष २०७७ देखि साउन १५ लाई कोदो दिवसका रूपमा मनाउन सुरू गरिएको हो । सन् २०२३ देखि अन्तर्राष्ट्रिय रूपमा मनाउने घोषणा पनि भइसकेको छ ।

जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयुक्तता बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ७० भन्दा बढी देशहरूको समर्थनमा संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई कोदो अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गरिएको छ ।

 

कोरोनाको उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल Read Previous

कोरोनाको उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल

एनआइसी एशिया क्यापिटलले ५५ प्रतिशत लाभांश दिने Read Next

एनआइसी एशिया क्यापिटलले ५५ प्रतिशत लाभांश दिने