लुम्बिनी केबलकारको ८ वटा टावर निर्माण सकियो, माघदेखि सञ्चालनमा ल्याइने

काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामि माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।

हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने जानकारी दिए ।

करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

‘केबलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मीटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेशनको सब–स्ट्रक्चरको निर्माण कार्य करिब सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साईट डेभलपमेन्टको काम अघि बढिरहेको छ । नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडि बढिरहेको छ,’ उनले भने ।

साथै, उनले माथिल्लो स्टेशनमा सब–स्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको बताए ।

त्यसैगरी, माथिल्लो स्टेशनमा रहेको मन्दिरक्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँगसँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको बताए ।

ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तराष्ट्रिय परामर्शदाताहरुसँग छलफल भइरहेको जानकारी समेत दिए ।

केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका थिए ।

 

भू-उपयोग नियमावलीले पनि रोकेन कित्ताकाट, एक वर्षमै पारियो १६ लाख टुक्रा Read Previous

भू-उपयोग नियमावलीले पनि रोकेन कित्ताकाट, एक वर्षमै पारियो १६ लाख टुक्रा

आइओसीले घटाएर पठायो इन्धनको भाउ, प्रतिलिटर कति घट्यो ? Read Next

आइओसीले घटाएर पठायो इन्धनको भाउ, प्रतिलिटर कति घट्यो ?