काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २३ मा कृषियोग्य जमिनको खण्डीकरण रोक्न भूउपयोग नियमावली ल्याए पनि जग्गाको कित्ताकाट भने रोकिएको छैन् ।
मन्त्रालयले मातहतका निकायहरूलाई जग्गाको वर्गीकरण नगरी कारोबार नगर्न निर्देशन दिएपनि गत असारमा जग्गाको कित्ताकाट भने नरोकिएको हो । असारमा १७ हजार जमिनलाई कित्ताकाट गरेर ३७ हजार २६८ टुक्रा पारिएको भूमी व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
सरकारले स्थानीयतहमा भूउपयोग परिषद गठन गरेर ६ महिनाभित्र जग्गाको वर्गीकरण गरिसक्ने बताएपनि हालसम्म सकेको छैन् । सो परिषदले स्थानीय तहको जग्गालाई १० भागमा वर्गीकरण गर्ने छ भने त्यसअघि कारोबार गर्न परिषदको सिफारीस अनिवार्य गरिएको छ । देशभर कित्ताकाटमा केही कमी आए पनि ठप्प भने नभएको विभागको गत असारको तथ्यांकले देखाउँछ ।
सरकारले पछिल्ला केही वर्षयता जग्गाको कित्ताकाटमा कडाइ गर्दै आए पनि कारोबार भने झन बढेको देखिन्छ । मन्त्रालयले गत जेठमा जारी गरेको नियमावलीले काठमाडौं उपत्यकामा कृषि क्षेत्रको रुपका तोकिएको जग्गालाई झन्डै १ रोपनी अर्थात् ५०० वर्गमिटर (१५ आना २ पैसा ) भन्दा कम क्षेत्रफल हुने गरी टुक्र्याउन नपाउने व्यवस्था गरेको थियो ।
यसैगरी, तराई र भित्री मधेशमा ६७५ वर्गमिटर क्षेत्रफल (१ रोपनी ५ आना)भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ भने यी बाहेक क्षेत्रमा १ हजार वर्गमिटरभन्दा कम क्षेत्रफल हुने गरी कृषि जमिन कित्ताकाट गर्न नपाइने राजपत्रमा उल्लेख छ । तर, बढ्दो जनसंख्या र घरजग्गाको सट्टेबाजी धन्दाले सबैभन्दा धेरै कित्ताकाट गतवर्ष ने भएको देखिन्छ ।
गत आर्थिक वर्षमा ६ लाख ९४ हजार २१३ घरजग्गाको कित्ताकाट गरेर १६ लाख १३ हजार २९२ टुक्रा पारिएको छ । आर्थिक वर्ष २०७५/७६ मा ३ लाख ६० हजारको कित्ताकाट गरेर ८ लाख १२ हजार पुर्याइएको थियो भने २०७६/७७ मा ४ लाख ४ठ हजार जमिन टुक्रयाएर १० लाख ६६ हजार पुर्याइएको छ ।
यसैगरी, २०७७/७८ मा ५ लाख ५ लाख ६५ हजार जमिन टुक्राएर १२ लाख १६ हजार चिरा पारिएको विभागले जनाएको छ ।
१ वर्षमा १६ लाख १३ हजार टुक्रा
गत आर्थिक वर्षमामात्रै जग्गालाई १६ लाख टुक्रा पारिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यस वर्षमा १६ लाख १३ हजार कित्ताकाट भएको छ ।
गत असारमा सबैभन्दा कम ३७ हजार कित्ताकाट भएको छ । वैशाखमा १ लाख ९ हजार ५५५ कित्ताकाट र जेठमा १ लाख २२ हजार ८०४ जमिन कित्ताकाट भएको थियो ।
चैतमा सबैभन्दा धेरै ७३ हजार ८०५ जग्गालाई टुक्र्याएर १ लाख ७२ हजार ७९७ टुक्रा बनाइएको थियो । यस्तै, वैशाखमा ४५ हजार ५९४ बाट कित्ताकाट गरेर १ लाख ९ हजार ५५५ बनाइएको विभागको तथ्यांकले देखाएको छ ।
त्यसैगरी, फागुनमा ६८ हजार ९५१ जग्गालाई टुक्र्याएर १ लाख ६१ हजार ७०२ टुक्रा बनाइएको थियो भने माघमा ५६ हजार ९९८ जग्गालाई कित्ताकाट गरी १ लाख ३४ हजार ८९६ कायम बनाइएको थियो ।
विभागका अनुसार साउनमा ७३ हजार १५९ जग्गालाई १ लाख ६५ हजार ७०० टुक्रा, भदौमा ६४ हजार ९४२ जग्गालाई १ लाख ४८ हजार १६८, असोजमा ५५ हजार ४६३ जग्गालाई १ लाख २७ हजार ८०३ टुक्रा पारिएको थियो ।
यस्तै, कात्तिकमा भने चालु वर्षको सबैभन्दा कम ४८ हजार ९३२ जग्गालाई खण्डीकरण गरी १ लाख १० हजार ८३९ कायम गरिएको थियो भने मंसिरमा ६८ हजार ६३६ जग्गा टुक्रा पारी १ लाख ५८ हजार ३१० बनाएको छ ।
यस्तै, पुसमा ७० हजार २४८ जग्गाको कित्ताकाट गरेर १ लाख ६३ हजार ४५० बनाइएको विभागको तथ्यांकले देखाएकोे छ ।