काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको नेपालका लागि आधिकारीक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलको भाउ महँगिएपछि साइमेक्स इंकले नेपालमा पनि गाडीको मूल्य बढाएको हो । गाडीको मूल्य निर्धारण गर्ने बेलामाभन्दा अहिले डलरको भाउ ७ प्रतिशत बढेकाले मूल्य बढाउनु बाध्यता रहेको कम्पनीले जनाएको छ ।
नेपालमा पनि विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आए पनि हाल आएर मात्रै मूल्य बढाएको कम्पनीले जनाएको छ ।
कम्पनीले बीवाइडी ई–सिक्सकको मूल्य १ लाख ५० हजार रुपैयाँ बढाउँदै ५९ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ पुर्याएको छ ।
मूल्य वृद्धिको विषयमा ग्राहकलाई पर्न गएको असरको विषयमा साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हामीले सन्२०२१ मा नेपालमा बीवाइडी ई–सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौं, निरन्तर त्यसमै विक्री गरिरहेका थियौं । तर, पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा ब्यापक वृद्धि भएको कारण हामीले मूल्य बढाउनु परेको हो ।’
सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउने छन् । ई–सिक्स र एमथ्रीको बारेमा बीवाइडी ई–सिक्सको नयाँ जेनेरेशन मोडल ग्राहकले निकै मन पराएका छन् ।
बीवाइडीको लेटेष्ट टेक्नोलोजीमा आधारित ब्लेड ब्याट्री यसको सबैभन्दा बलियो पक्ष हो । जुन कम्पनीले विक्री गर्दै आएको एम थ्री मोडलमा पनि छ । यो ब्लेड ब्याट्री सुरक्षाको हिसाबले अब्बल र लङ रेन्जको लागि उपयुक्त रहेको छ ।
ई–सिक्समा कम्पनीले ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फुलचार्जमा यसको रेन्ज ५२२ किलोमिटर रहेको छ । साथै, ग्राहकले ७ किलोवाट क्षमताको एसी चार्जर पनि गाडीसँगै पाउने
छन्।
पूर्णतः इलेक्ट्रीक प्लेटफर्ममा तयार भएको ई–सिक्स आधुनिक सुरक्षा फिचर लोडेड कार हो भने यसमा ग्राहकले प्रसस्त स्पेश पाउन सक्ने छन् ।
एमथ्री ७ सिट क्षमताको गाडी हो । ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध एमथ्री निकै आरमदायी भ्यान हो । एक पटकको फुल चार्जमा २७५ किलोमिटर रेन्ज प्रदान गर्ने एमथ्रीमा १०० किलोवाट आवरको मोटर दिइएको छ । यसमा पनि ७ किलोवाट क्षमताको एसी चार्जर ग्राहकले पाउने छन्।