बालाजु-रानीपौवा सडक : ७ पटक म्याद थप्दा बल्ल आधा काम पूरा, ठेक्का तोड्ने प्रक्रिया अघि बढाइँदै

काठमाडौं । बालाजु–रानीपौवा सडकखण्ड विस्तार सुरू गरिएकाे ८ वर्ष बिते पनि हालसम्म आाधा मात्र काम सम्पन्न भएको छ । २०७१ जेठदेखि निर्माण सुरू गरिएको यस सडकको हालसम्म ५४ प्रतिशत मात्र काम सम्पन्न भएको हो ।

२ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित कुल १७.१० किलोमिटर लम्बाइ रहेको सो खण्डको विस्तारले हालसम्म पूर्णता पाउन सकेको छैन । २०७१ जेठ २२ गते सम्झौता भएको यो खण्डको निर्माण सम्पन्न अवधि २०७३ असार २ गतेसम्म रहेको थियो ।

८ वर्ष बितिसक्दा समेत आयोजनाको भौतिक प्रगति आधा मात्र सकिएको छ भने अझै ४६ प्रतिशत काम बाँकी छ । यस सडको बालाजुदेखि तीनपिप्लेसम्म ग्राभेल भए पनि बाँकी खण्ड भत्काएर छोडिएको छ ।

बालाजु–रानीपौवा खण्डमा भारतीय कम्पनी एआइपीएल र नेपाली कम्पनी शैलुङ जेभीले काम गरिरहेको छ । राजनीतिक शक्ति र पहुँचका भरमा सातौं पटक म्याद थपिए पनि बल्ल आधा मात्र काम सम्पन्न भएको । शैंलुङ कन्स्ट्रक्शनका संचालक शारदाप्रसाद अधिकारी नेकपा माओवादीका अध्यक्ष प्रचण्डका घरबेटी समेत हुन् ।

आयोजनाको अनुमानित लागत ५४ करोड २२ लाख रुपैयाँ रहे पनि ठेक्का सम्झौता भने ३४ करोड ९४ लाख रुपैयाँमा निर्माण गर्नेगरी भएको थियो । हालसम्म उक्त निर्माण व्यवसायीलाई ४९ प्रतिशत रकम भुक्तानी गरिएको छ । सो अनुसार १८ करोड रुपैयाँ भुक्तानी भइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाइएको छ ।

यस सडकको अन्तिम पटक थपिएको म्याद गत चैत मसान्तमै सकिएको भएको छ भने अहिले काम ठप्प भएको छ । अहिलेकै ठेकेदारले काम नगर्ने देखेपछि उससँगको ठेक्का तोड्दै अब नयाँ ठेक्का लगाइ काम सम्पन्न गरिने सडक विभागले जनाएको छ ।

कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो

निर्माण कम्पनीले साइटमा कुनै काम नगरेको अवस्था रहेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनका अनुसार निर्माण साइटमा काम ठप्प रहेको र निर्माण गरेका स्थानमा समेत फेरि मर्मत गर्नुपर्ने अवस्था सृजना भएको उनले बताए ।

उक्त आयोजनाको म्याद २०७९ असार ५ गते ठेक्का अवधि समाप्त भइसकेको छ । सडक विभाग अन्तर्गतको सडक सुधार आयोजना निर्देशनालयबाट सार्वजनिक खरिद ऐन २०६३, खरिद नियमावली २०६४ र खरिद सम्झौता डकुमेन्टमा भएको प्रावधान बमोजिम सोही दिन उक्त निर्माण कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको उनको भनाइ छ ।

‘ठेकेदार कम्पनीले पट्कै काम गरेको छैन, ठेक्का तोडेर कालोसूचीमा राख्न प्रकृया अगाडि बढाइसकेका छाैं,’ महानिर्देशक थापाले भने ।

सडक विभागले निर्माण व्यवसायीको नेपाल बंगलादेश बैंकमा रहेको १ करोड ५५ लाख २४ हजार रुपैयाँ बराबरको कार्य सम्पादन जमानत रकम जफत गरि विभागको खातामा जम्मा गर्ने गरी २०७९ असार ५ गते पत्रचार समेत गरिएको उनले बताए ।
विभागले ठेक्का अन्त्य पछि निर्माण व्यवसायीबाट असुल गर्नुपर्ने, बिग्रिएका र बाँकी कामहरूको मूल्यांकन प्रकृया सुरू गरेको उनको भनाइ छ ।

 

नेप्सेमा ५० अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा ५० अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

जग्गा बेचेर तिर्दा पनि सकिएन लघुवित्तको ऋण, पैसा उठाउन घरमा लगाइदिन्छन् ताल्चा Read Next

जग्गा बेचेर तिर्दा पनि सकिएन लघुवित्तको ऋण, पैसा उठाउन घरमा लगाइदिन्छन् ताल्चा