वीरगञ्ज-पथलैया ६ लेन सडक निर्माण अन्तिम चरणमा, ८९ प्रतिशत काम सम्पन्न

सांकेतिक तस्वीर

काठमाडौं । उत्तरदक्षिण राजमार्ग अन्तर्गत बाराको पथलैयाबाट वीरगञ्जसम्म ६ लेनको सडक निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गरिने भएको छ ।

यस सडकखण्डको हालसम्म ८९ प्रतिशत काम सम्पन्न भइसकेको छ भने अब ११ प्रतिशत मात्र काम बाँकी रहेको छ । ३२ किलोमिटरको मेनलेन निर्माणको काम पूरा भइसकेको आयोजना प्रमुख मनिषकुमार शाहले बताए ।

आयोजना पूरा गरी हस्तान्तरण गर्न थप १ वर्ष लाग्ने उनले बताए । उनका अनुसार चालु आव (२०७९/८०) भित्र आयोजनाको पूरा काम सम्पन्न गरी हस्तान्तरण गरिने छ । २०७५ पुस २८ गते भित्र सम्पन्न गर्ने गरी सुरु गरिएको यो आयोजना तोकिएको म्यादभन्दा ५ वर्ष ढिला पूरा हुन लागेको हो ।

‘मेन रोडको काम सकिसक्यो, अब लिङ्करोड र रेलिङ, सर्भिस लेनको काम बाँकी छ, त्यसका लागि १ वर्ष म्याद थपेका छौं, चालु आवभित्र त्यो काम सकेर हस्तान्तरण गर्ने छौं,’ शाहले चाणक्य पोष्टसँग भने ।

यस आयोजनामा हालसम्म ४ अर्ब ३८ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए । यस खण्डको निर्माण लागत ५ अर्ब ५७ करोड रुपैयाँ अनुमान गरिएको थियो । लिङ्क रोड र अन्य सर्भिस लेन, रेलिङ लगायतका काम बाँकी रहेको उनले बताए । गत आर्थिक वर्षमा मात्र ७१ करोड १२ लाख रुपैयाँ बजेट खर्च भएको थियो ।

वीरगञ्ज–पथलैया सडकमा भने पूर्वपश्चिम राजमार्गका अन्य खण्डमाजस्तै ‘मेडियन’ (डिभाइडर संरचना) बन्ने छ । यस सडक निर्माणका क्रममा ११ मिटरको २ लेन र ३ मिटरको मिडियन रहेको छ । ‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ । सो सडकमा ५.५ मिटरको सर्भिस लेन बनाइएको छ ।

वीरगञ्जबाट पथलैयासम्म ६ लेनमा सडक विस्तार भइसकेको छ । बाराको पथलैयाबाट वीरगञ्जसम्म सडक विस्तार भयो भने यसले विरगञ्ज हुँदै छिमेकी राष्ट्रको रक्सौल पुग्ने बाटो सहज बनाउने शाहले बताए ।

स्ट्याण्डर्ड चार्टर्डको खुद नाफामा छलाङ, वितरण योग्य नाफा कति ? Read Previous

स्ट्याण्डर्ड चार्टर्डको खुद नाफामा छलाङ, वितरण योग्य नाफा कति ?

पर्यटक आकर्षित गर्न बेगनास तालमाथि झोलुङ्गे पुल Read Next

पर्यटक आकर्षित गर्न बेगनास तालमाथि झोलुङ्गे पुल