काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गरेपछि आइतबारदेखि तुफानी गतिमा बढेको नेप्से आज सोही गतिमा घटेको छ ।
यससाताको सुरुका दुई दिनमै ११५ अंकले बढेको नेप्से आज ४५ अंकले घटेको छ । सूचकसँगै आज कारोबर रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४० करोडले घटेर पौने ४ अर्बभन्दा कममा सीमित भएको छ ।
मंगलबार नेप्से ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा आइपुगेको छ । यसदिन २२२ कम्पनीको ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ३.५६ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, लगानी, माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण काबेली साढे १५ करोड र अरुण भ्याली १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा आज गणपति लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशत घटेको छ । त्यसैगरी, रिभर फल्स पावर ५.९९, सबैको लघुवित्त ५.१३, पोखरा फाइनान्स ५.१०, गुह्येश्वरी मर्चेन्ट ५.०३, मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, र एनएमबी माइक्रोफाइनान्सका सेयरधनीले साढे ४ प्रतिशत गुमाएका छन् ।