विद्युतीय तार भूमिगत गर्ने काम सुस्त, अढाई वर्षमा कुन-कुन ठाउँमा गरियो ?

काठमाडौं । साढे २ वर्ष अघि सुरू गरिएको काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कार्यले अपेक्षित गति लिन सकेको छैन । २०७६ फागुन ५ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धुमधामका साथ उद्घाटन गरेको विद्युतीय तार भूमिगत गर्ने कार्यले गति लिन नसकेको हो ।

सुरूआति समयमा कामले गति लिए पनि पछिल्लो समय भने सुस्त भएको छ । सडक खन्न अनुमति नपाउँदा र कोरोनाका कारण काममा ढिलाइ भएको विद्युत् प्राधिकरणले बताएको छ ।

३० महिना भित्र सम्पन्न गर्ने लक्ष्य साथ सुरू भएको यो आयोजनाको म्याद सकिन अब ५ महिना मात्र बाँकी रहेको छ । पछिल्लो समय महाराजगञ्ज र रत्नपार्क खण्डका विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन ।

महाराजगञ्ज खण्डमा कुल ६५० किलोमिटर केबल लेन्थिङ कार्य गर्नुपर्नेमा हालसम्म ६८ प्रतिशत काम पूरा भइसकेको आयोजना प्रमुख अभिषेक अधिकारीले बताए । उनले केबल भूमिगत गर्ने काम ६५ प्रतिशत सकिएको र पाइपको काम ६८ प्रतिशत सकिएको बताए ।

उनले रिङरोड र सडक विभाग अन्तर्गतका केही सडकमा तार भूमिगतको काम गर्न बाँकी रहेको बताए । ‘सडक विभागबाट अनुमति नपाएको कारणले रिङरोड र अन्य केही सडकमा तार भूमिगत गर्न बाँकी रहेको छ, भदौसम्म अनुमति पायो भने कामले गति पाउनेछ,’ अधिकारीले चाणक्य पोष्टसँग भने ।

सांग्रीला होटल, महाराजगञ्ज, लैनचौर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम सम्पन्न भइसकेको उनले बताए । बाँसबारीदेखि बुढानिलकण्ठ क्षेत्रमा समेत तार भूमिगतको काम सम्पन्न भइसकेको छ । हाल महाराजगञ्ज-बुढानिलकण्ठ क्षेत्रमा साढे १ किलोमिटर हाराहारीमा विद्युतीय तार भूमिगत गर्ने काम बाँकी रहेको उनले बताए ।

महाराजगञ्जदेखि नारायण गोपाल चोकमा रोड परमिट नपाएका कारण विद्युतीय तार भूमिगतको काम अघि बढ्न नसकेको उनले जानकारी दिए । परमिट पाएको केही समयमै उक्त स्थानमा समेत भूमिगतको काम सुरू गरिने बताए ।

यस्तै रत्नपार्क खण्डमा कुल ६ सय किलोमिटर मध्ये २ सय किलोमिटरमा मात्र विद्युतीय तार भूमिगत भएको आयोजना प्रमुख सुमन श्रेष्ठले बताए । उनका अनुसार टेकु, चाबहिल, सामाखुसी, महाँकाल लगायतका क्षेत्रमा तार भूमिगत गर्ने काम भइसकेको छ ।

उनले २१५ किलोमिटरमा तार भूमिगतको काम भइसकेको बताए भने २२० किलोमिटर पाइप लगाइ सकेको बताए । रत्नपार्क खण्डमा बागबजार, पुतली सडक, टेकु, सोह्रखुट्टे, लाजिम्पाट, बालुवाटारसम्म विद्युतीय तार भूमिगत गर्ने गरी सम्झौता भएको थियो ।

उपत्यकाको ४०० किलोमिटर क्षेत्रका १ लाख घरधुरीमा विद्युतीय तार भूमिगत गरिसक्ने योजना सहित भारतीय कम्पनी केईआइ इण्डष्ट्रिजसँग ठेक्का सम्झौता गरिएको थियो ।

विगतमा कोभिडका कारणले गति लिन नसकेको यस आयोजनाले अझै पनि राम्रो काम हुन सकेको छैन । २०७९ पुष महिना भित्र सम्पन्न हुने यो आयोजनाले अझै भने जस्तो गति लिन सकेको छैन ।

यस्तै ललितपुर, भक्तपुर, पोखरा, भरतपुर लगायतका क्षेत्रमा विद्युतीय तार भूमिगत गराउने तयारी भइरहेको थियो ।

 

ग्लोबल आइएमई लघुवित्तको अधिकांश सूचकमा सुधार, ईपीएस भने घट्यो Read Previous

ग्लोबल आइएमई लघुवित्तको अधिकांश सूचकमा सुधार, ईपीएस भने घट्यो

एक्सेल डेभलपमेन्ट बन्यो पहिलो प्रादेशिक बैंक Read Next

एक्सेल डेभलपमेन्ट बन्यो पहिलो प्रादेशिक बैंक