काठमाडौं । साउन भित्रै दुई लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएका छन् ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि र धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्ने भएका हुन् ।
अभियानको पौने १० करोडको आइपीओ आउने
अभियानले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो।
निष्काशन हुने कुल सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओमा २२ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ भने आइपीओ निष्काशनपछि २५ करोड रुपैयाँ पुग्नेछ।
धौलागिरीले सवा ३ करोडको आइपीओ
धौलागिरी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्नेछ।
लघुवित्तले निष्काशन गर्ने कुल सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेययरका लागि सुसर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सो आइपीओमा साउन २९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले ‘केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छभने आइपीओ जारीपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।