काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफामा उल्लेख्य सुधार भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २५ प्रतिशतले बढेको छ ।
बैंकले गत वर्षको असार मसान्तसम्म ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब ४ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्षमा बैंकले ४ अर्ब १६ करोड खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र संचालन आम्दानी बढ्दा बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड र संचालन मुनाफा २६.९० प्रतिशत बढेर ७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
२३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब १५ करोड रुपैयाँ र रिटेन अर्निङमा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ। यसबाट बैंकले साढे १३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
असार मसान्तसम्म बैंकले २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
खुद नाफ बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बैंकको छ । अछिल्लो वर्ष १९.२५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी बढेर २१.८८ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५६.११ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.४९ गुणा, खराब कर्जा १.२२ प्रतिशत, आधारदर ९.४ प्रतिशत र स्प्रेडदर ४.२६ प्रतिशत छ ।