काठमाडौं । सेयर बजार घट्दा सरकारले पाउने राजस्वमा पनि ठूलो गिरावट आएको छ । गत आर्थिक वर्षमा नेप्से परिसूचक अधिकतम विन्दुबाट करिब ४४ प्रतिशत घट्दा सरकारले प्राप्त गर्ने कर पनि ३४.२० प्रतिशतले घटेको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा सेयर कारोबारीले कमाएको नाफाबाट सरकारले १० अर्ब ३५ करोड कर उठाएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ५ अर्ब ३८ करोड कम हो । अघिल्लो आवमा सरकारले सेयर बजारबाट इतिहासकै धेरै १५ अर्ब ७३ करोड कर उठाएको थियो ।
दैनिक कारोबार र लगानीकर्ताले कमाउने नाफा घटेसँगै सरकारले पाउने कर पनि घट्न पुगेको हो । अघिल्लो आवमा लगानीकर्ताले सेयर बजारबाट २ खर्ब बढी मुनाफा कमाएका थिए भने गत वर्ष झन्डै आधाले घटेर १ खर्बमा सीमित भएको छ । गत वर्ष लगानीकर्ताले आफ्नो नाफबाट पूँजीगत लाभकरमार्फत ९४ अर्ब १३ करोड तिरेका छन् ।
अघिल्लो वर्षको तुलनामा सकारले पूँजीगत लाभकर बढाए पनि लगानीकर्ताको नाफा घट्दा राजस्वमा ठूलो गिरावट आएको हो । २०७७/७८ सम्म लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए भने गत वर्षदेखि दीर्घकालीन (१ वर्षभन्दा बढी अवधि) लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन (१ वर्षभन्दा कम) लगानीकर्ताले ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नु पर्दछ ।
नेप्से परिसूचक गत भदौमा इतिहासकै सर्वाधिक ३१९९ विन्दुमा पुगेको थियो । सो बेला इतिहासकै सर्वाधिक एकैदिन २२ अर्बसम्मको कारोबार भएको थियो । तर, गत भदौयता नेप्से लगातार घट्दै न्यूनतम विन्दु १८०० सम्म आएको थियो भने दैनिक कारोबार १ अर्बभन्दा कममा झरेको थियो । अहिले पनि दैनिक औसतमा १ अर्ब हाराहारी मात्रै कारोबार हुँदै आएको छ ।

दैनिक कारोबार रकम र लगानीकर्ताले कमाउने नाफा घट्दा सरकारलाई समेत ठूलो घाटा लागेको हो । सेयर लगानीकर्ताले १ वर्षके अवधिमा झन्डै १४ खर्ब सम्पत्ती गुमाएका छन् । गत भदौमा ४४ खर्ब रहेको सेयर बजार पूँजीकरण अहिले घटेर २८ खर्ब हाराहारीमा सीमित भएको छ ।
लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरूले सेयर कारोबारमा पूँजीगत लाभकर, लाभांश, आयकर र अग्रिम कर कट्टी बापत सरकारलाई कर तिर्नु पर्दछ । हाल संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले १ वर्षभन्दा कममा बेचे ७.५ प्रतिशत र सोभन्दा बढी अवधिमा बेचेमा ५ प्रतिशत पूँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था छ ।
सेयर बजारबाट सरकारले कुन वर्ष कति कमायो ?
सरकारले सेयरबजारबाट २०७७/७८ मा १५ अर्ब ७३ करोड कर प्राप्त गरेको थियो । यो ३ दशक लामो सेयर बजारको यात्रामा हालसम्मकै धेरै हो ।
त्यस्तै, आव २०७६/७७ मा जम्मा १ अर्ब ३५ करोड कर उठाएको थियो भने आव २०७५/७६ मा ९४ करोड राजस्व उठेको थियो ।त्यसैगरी, आव २०७४/७५ मा ७४ करोड, आव २०७३/७४ मा १ अर्ब ८१ करोड र आव २०७२/७३ मा १ अर्ब ७८ करोड कर पाएको थियो ।