हचुवामा सुरुङमार्ग घोषणा : ३५ वटामा ५ मात्रै निर्माणकाे चरणामा, कुनकाे कस्तो छ प्रगति ?

सांकेतिक तस्वीर

काठमाडौं । पछिल्लो समय सुरुङमार्ग घोषणाको लहड चलेको छ । हरेक वर्ष सरकारले नयाँ सुरुङमार्ग घोषणा गर्दै गएको छ ।

विस्तृत अध्ययन, अनुसन्धान र स्रोत सुनिश्चितता बिनै सुरुङमार्ग घोषणा हुँदै आएको छ । राजनीतिक दलका नेता सत्ता र शक्तिमा भएका बेला आवश्यकता र औचित्य पुष्टि नभएका ठाउँमा समेत सुरुङमार्ग घोषणा र बजेट विनियोजन गर्ने होड नै चलेको छ ।

देशका मुख्य सडकको समेत नियमित मर्मत सम्भार गर्न नसक्ने सरकारले विकासको नाममा जनताको आँखामा छारो हाल्न सुरुङमार्ग निर्माणको आश्वासन देखाउने गरेका छन् । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीका पालादेखि घोषणाका लागि मात्र भए पनि सुरुङमार्ग घोषणा गर्ने प्रवृत्ति ह्वात्तै मौलाएको थियो भने वर्तमान सरकारले समेत सोही बाटो समातेको छ ।

नेताहरूले मैले मेरो ठाउँमा सुरुङमार्ग पारेँ भन्नका लागि मात्र सुरुङमार्ग घोषणा गर्ने लहड चलेको छ । बन्ने/नबन्ने टुंगो नभए पनि सत्तामा भएका बेला शक्ति र पहुँचका भरमा सुरुङमार्ग घोषणा गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

अत्यावश्यक आधारभूत सडक पूर्वाधार समेत पुग्न नसकेको ठाउँमा समेत सुरुङमार्ग घोषणा हुन थालेको छ । सवारी चाप रहेका र भौगालिक रुपमा समेत कठिनाइ रहेका सडकमा दूरी छोट्याउन सुरुङमार्गको निर्माण गरिन्छ । सुरुङमार्ग निर्माण धेरै महँगो समेत हुने गरेको छ । तर, यी कुरा वेवास्ता गर्दै हचुवाको भरमा सुरुङमार्गको नाममात्र घोषणा गरिएको छ ।

३ दर्जन सुरुङमार्ग घोषणा, ५ वटाको मात्रै निर्माण सुरू

हालसम्म करिब ३ दर्जन सुरुङमार्ग घोषणा गरिएका छन् । तीमध्ये जम्मा ५ वटा सुरुङमार्गको मात्र ठेक्का प्रक्रिया सकिएर निर्माणको चरणमा रहेका छन् ।

हालसम्म नागढुंगा–नौबिसे, सिद्धबाबा र काठमाडौं तराई मधेश द्रुतमार्ग अन्तर्गत ३ वटा गरी कुल ५ वटा सुरुङमार्ग निर्माणको ठेक्का लागेको छ । अन्य सुरुङमार्गमध्ये केही घोषणामै सीमित भएका छन् भने केहीको प्रारम्भिक र विस्तृत अध्ययनको चरणमा छन् । घोषणा भएका ३५ सुरुङमार्गमध्ये हालसम्म नागढुंगा नौबिसे सुरुङमार्गको आधा काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको यस सुरुङमार्गको हालसम्म सुरुङ खन्ने काम ५५ प्रतिशत पूरा भएको छ ।

आयोजना अन्तर्गत धादिङ र काठमाडौं दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । मुख्य र आपतकालीन गरी कुल ५ अजार ५५० मिटर सुरुङ खन्नु पर्नेमा हालसम्म ३ हजार १५० मिटर खन्ने काम पूरा भएको छ ।
यो सुरुङमार्ग जापानी दातृ निकाय जाइकाको ऋण सहयोगमा निर्माण भइरहेको हो । यसको लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ ।

फाष्ट ट्रयाकामा ३ वटा सुरुङ खन्न सुरू

तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा ३ वटा सुरुङ निर्माणको लागि ठेक्का लगाएर काम भइरहेको छ । दुई वटा प्याकेजमा भइरहेको सुरुङ निर्माणको काम भइरहेको हो ।

दुई वटा प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन काम गरिरहेका छन् ।
पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले छोक्रेडाँडादेखि धेद्रेसम्मको सुरुङ मार्ग निर्माणको ठेक्का लिएको छ । ३.३५५ किलोमिटर उक्त सुरुङ निर्माणको काम २१ अर्ब ६१ करोड रुपैयाँ लागतमा हुन लागेको हो  । दुवैै प्याकेजका ३ वटै सुरुङको डिजाइन पूरा भइ स्वीकृत भइसकेको छ ।

दोस्रो प्याकेजमा धेद्रेदेखि लेनडाँडासम्मको सुरुङमार्ग चाइनिज निर्माण कम्पनी पोली च्याङ्दाले गरिरहेको छ । ३.०३ किलोमिटर उक्त सुरुङमार्गको निर्माण २८ अर्ब ५३ करोड रुपैयाँमा हुने गरी ठेक्का लागेको हो । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ वैशाख ३१ मा दुवै कम्पनीलाई ठेक्का दिइएको थियो ।

सिद्धबाबाको डिजाइन बन्दै

सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणको ठेक्का लागी हाल डिजाइनको काम भइरहेको छ । यो सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ठेक्का पाएको छ । उक्त कम्पनीले ९ महिनाभित्र सुरुङ मार्गको अध्ययन सहित डिजाइन समेत गर्नुपर्नेछ । सुरुङमार्गको डिजाइन सन् २०२३ को जनवरीसम्ममा सक्नु पर्नेछ ।

चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा निर्माण पूरा गर्ने गरी ठेक्का पाएको हो । कम्पनीले ५ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्नु पर्नेछ ।

कम्पनीले सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्नेछ । ईपीसी मोडलमा निर्माण गर्दा आयोजनाले दिएको बेसलाइ सर्भेका आधारमा विस्तृत डिजाइन, खरिद, निर्माण र तोकिएको समयसम्म सञ्चालन र मर्मतसम्भार समेत गर्नुपर्छ ।

अन्य कहाँ कहाँ बन्दैछन् सुरुङमार्ग ?

सरकारले दुम्कीबास– बर्दघाट, कुलेखानी– भीमफेदी, खुर्कोट– चियावारी, मझिमटार– शक्तिखोर, ब्याउलीढुङ्गा– ईमिल्चाखोला, सुर्खेत रानीघाट– भुरीगाउ सुरुङ मार्गको अध्ययन कार्य सम्पन्न गरिने योजना रहेको छ ।

चार भञ्ज्याङ्ग चार सुरुङ मार्गको अवधारणा अन्तर्गत काठमाडौं उपत्यकाका बाँकी तीन भञ्याङ्ग तर्फ टोखा–छहरे¸ गोदावरी– पनौति र साँगा– बनेपा खण्डको सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने सरकारले बजेटमा उल्लेख गरेको छ । सुरुङ मार्ग विकास कार्यक्रमको लागि आगामी आवमा १ अर्ब १९ करोड विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा सिद्धार्थ राजमार्गको सिद्धवावा–दोभान खण्ड, दोलखाको लामावगर–लाप्चे र धरान–धनकुटा सडक खण्डको धरान–लेउती सुरुङ मार्ग निर्माण प्रारम्भ गर्ने गरी बजेट बनाइएको थियो । जसका लागि सम्भाव्यता अध्ययन र डिजाइन समेत सुरू गरिएको छ ।

टोखा–छहरे–गुर्जुभज्याङ, वेत्रावती–स्याफ्रुवेशी, खुर्कोट–चियावारी र थानकोट–चित्लाङ्ग सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, पृथ्वी राजमार्गको मझिमटार–शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गको हेम्जा–नयाँपुल, चेपाङ्ग राजमार्गको दुम्लिङ्ग–वाङ्गसिङ्ग, पूर्ब–पश्चिम राजमार्गको दुम्कीवास–वर्दघाट, कोहलपुर–सुर्खेत राजमार्गको बबई–छिन्चु, सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट, पाल्पा–तम्घास सडकको प्रभास–जोर्ते र विपिनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख छ ।

यसरी हरेक वर्ष सरकारले सुरुङको संख्या थपिँदै लगिने तर स्रोत सुनिश्चित र अध्ययन बिनै लहडमा घोषणा गर्दा कुनै पनि आयोजना सम्पन्न हुन नसक्ने विज्ञहरू बताउँछन् ।

धरान–लेउती सुरुङमार्ग डिजाइन तयार

धरान–लेउती सुरुङमार्गको डिजाइन तयार भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७८/७९ को बजेटमा धरान–लेउती सुरुङ निर्माण गर्ने घोषणा गरेका थिए । ४.९ किलोमिटर उक्त सुरुङले निर्माणका लागि १३ अर्ब रुपैयाँ बजेट समेत विनियोजन गरिएको थियो ।

उक्त सुरुङ निर्माणका लागि १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यस सुरुङको फिजिविलिटी स्टडी टीएमएस ई माभेन रे कन्सल्ट जेभीले गरेको थियो । सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जीनीयर सौरभ बज्रचार्यले यस सुरुङको डिजाइन पूरा भइसकेको बताए ।

उनले उक्त सुरुङमार्ग निर्माण प्राथमिक्ता राखिएका कारण चाँडै फाइनल अध्ययन गरी निर्माण समेत सुरू गर्ने बताए । ‘यसको डिजाइन बनिसक्यो, अब फाइनल अध्ययन गर्न बाँकी छ, यो सकिएपछि निर्माण कार्य सुरू हुन्छ,’ बज्रचार्यले चाणक्यपोष्टसँग भने ।

बबई–छिन्चु सुरुङमार्गको सम्झौता हुँदै

बबई–छिन्चु सडक खण्डमा बन्ने सुरुङ मार्गको अध्ययन चाँडै सुरू हुने भएको छ । सुरुङ निर्माणको सम्झौता भदौमा सम्भाव्यता अध्ययन सुरू गरिने सडक विभाग अन्तर्गत रहेको गुणस्तर अनुसन्धान विकास केन्द्रले जनाएको छ ।

यस्तै, बागलुङ–नरेठाँटी सुरुङमार्ग, फुर्सेखोला–छोरेपाटन–स्याङ्जा गुडीखोला सुरुङमार्ग, ब्याउली ढुंगा र इमिलचा खोला सुरुङमार्ग, पाल्पा सुरुङमाग, ताथली–वियोपी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि कम्पनी छनोटको प्रक्रियामा रहेको छ । कम्पनी छनोटका लागि बोलपत्र आह्वान भई प्राविधिक मूल्यांकबाट कम्पनी छनोट गरिसकिएके छ । अब आर्थिक प्रस्तावका आधारमा एक एक कम्पनी छनोट गरी सम्भाव्यताका अध्ययनका लागि ठेक्का दिइने छ ।

 

कालीगण्डकी करिडोर निर्माणले गति लिँदै Read Previous

कालीगण्डकी करिडोर निर्माणले गति लिँदै

सयपत्री हाइड्रोपावर साउन १३ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Next

सयपत्री हाइड्रोपावर साउन १३ गतेदेखि आइपीओ निष्काशन गर्ने