अनुत्पादक क्षेत्रको कर्जामा कडाइ : घरजग्गामा उल्टो बढ्यो, सेयर धितोमा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा प्रवाहमा लिएको कडाइ नीतिको मिश्रित प्रभाव देखिएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा र सेयर धितो कर्जामा कडाइ गरेको थियो । राष्ट्र बैंकको सो कार्यले सेयर धितोमा प्रवाह हुने कर्जा घटेको छ भने कडाइका बाबजूद घरजग्गामा जाने कर्जा भने बढेको छ ।

घरजग्गा, सेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले आक्रमक कर्जा लगानी गरेपछि केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत लगाम लगाएको थियो ।

राष्ट्र बैंकले मौद्रिक घरजग्गा र सेयर धितोमा प्रवाह हुने कर्जालाई निरुत्साहन गर्नभन्दै यी क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएको थियो । त्यस्तै, सेयर बजारमा जाने कर्जा नियन्त्रण गर्न एक व्यक्तिले एउटा बैंकबाट ४ करोड र समग्र बैंकिङ प्रणालीबाट बढीमा १२ करोड रुपैयाँ मात्र ऋण लिन पाउने व्यवस्था गरेको थियो ।

‘बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकको यो व्यवस्थाले सेयर धितोमा प्रवाह हुने कर्जामा गिरावट आएको छ । कडाइका बाबजूद घरजग्गामा लगानी हुने कर्जा भने न्यून मात्रमा बढेको छ ।

राष्ट्र बैंकको कडाइ र तरलता अभावका कारण ब्याजदर वृद्धि हुँदा पनि घरजग्गामा प्रवाह हुने कर्जा भने बढेको राष्ट्र बैंकको तथ्यांकले नै देखाएको छ । राष्ट्र बैंकले लगाएको लगामले सेयर कर्जा नियन्त्र गरे पनि घरजग्गा कर्जामा भने अपेक्षित ब्रेक लगाउन सकेको देखिएन ।

छोटो समयमा न्यून जोखीममा राम्रो प्रतिफल प्राप्त हुने भएकाले बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा र सेयर बजारमा लगानी गर्ने गरेका छन् । यस्ता क्षेत्रमा आक्रामक कर्जा विस्तार गरिरहेका बैंकहरुको लगानी नघटेपनि अनिन्त्रित रुपमा भने बढेको देखिँदैन् ।

मार्जिन कर्जा घट्यो, रियल स्टेट कर्जा बढ्याे 

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षकको ११ महिनामा समग्र बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सेयर धितो कर्जा १८ अर्ब ६९ करोड रुपैयाँले घटेको छ ।

२०७८ असार मसान्तसम्म वित्तीय संस्थाबाट कुल १ खर्ब ६ अर्ब रुपैयाँ मार्जिन कर्जा गएकोमा २०७९ जेठ मसान्तसम्म आइपुग्दा ८७ करोड ५८ अर्बमा झरेको छ । ११ महिनाको अवधिमा सेयर धितोमा प्रवाह भएको कर्जा १९ झन्डै १९ अर्बले घटेको हो ।

वाणिज्य बैंकहरुले मात्रै सेयर धितोमा ९० अर्ब ९२ करोड ऋण लगानी गरेकोमा जेठसम्म आइपुग्दा घटेर ७१ अर्ब ७१ करोड रुपैयाँमा आइपुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सेयर बजारमा १९ अर्ब कर्जा लगानी घटे पनि घरजग्गामा भने ८१ अर्ब बढेको छ । ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको रियल स्टेट र व्यक्तिगत घरकर्जामा कुल ८१ खर्ब १८ अर्ब रुपैयाँले बढेको छ । २०७८ असारसम्म बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ४ खर्ब ८१ अर्ब कर्जा प्रवाह गरेकोमा २०७९ जेठ मसान्तसम्म आइपुग्दा बढेर ५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

गत वर्षको ११ महिनामा रियल स्टेटभन्दा व्यक्तिगत घरकर्जामा बैंकको लगानी बढेको देखिन्छ । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र सो क्षेत्रमा ६८ अर्ब ९३ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । अघिल्लो असारसम्म ४ खर्ब ८ अर्ब कर्जा विस्तार गरेकोमा गत असारमा आइपुग्दा ४ खर्ब ७७ अर्ब रुपैयाँ पुर्याएका छन् ।

राष्ट्र्र बैंकको नीतिको प्रभाव

बैंकिङ क्षेत्रका जानकारहरुका अनुसार मार्जिन कर्जा घट्नुमा राष्ट्र बैंकको नीतिको प्रभाव रहेको छ । अर्कोतर्फ अनुत्पादक मानिएको घरजग्गा क्षेत्रमा गएको कर्जा पनि अनियन्त्रित भने होइन् ।

पूर्व बैंकर अनलराज भट्टराई राष्ट्र बैंकको ४/१२ को नीति र जोखीमभार वृद्धिको प्रभाव मार्जिन नेचर कर्जामा देखिएको बताउँछन् । ‘४/१२ को नीतिले ठूलो मात्रामा कर्जा लिनेहरुका लागि सीमा लगाएको छ, त्यसले पनि मार्जिन कर्जा घटेको हो । तर, ठूला लगानीकर्ताले ऋण लिदा सानाले नपाउने अवस्था थियो । यसले साना लगानीकर्ताहरुका लागि भने फाइदा भएको देखिन्छ,’ उनले भने, ‘अर्को भनेको यस प्रकारको कर्जामा जोखीम भार बढाएर १५० प्रतिशत पुर्याइयो । जसले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा प्रवाहमा निरुत्साहन गरेको छ ।’

बैंकले लिने प्रमुख धितो भनेकै अचल सम्पत्ति घरजग्गा भएकाले घरजग्गामा कर्जा लगानी अलि बढी देखिएको उनले बताए । गत आवमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जाको ठूलो हिस्सा उपभोग्य ऋणमै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

बढ्दो व्यापार घाटाको कारण पनि सो क्षेत्रमा प्रवाह हुने कर्जा रहेको अर्थशास्त्रीहरु बताउँछन् ।

हुलाकी राजमार्ग : सडक बन्यो, तर दशक बित्दा पनि बनेन पुल Read Previous

हुलाकी राजमार्ग : सडक बन्यो, तर दशक बित्दा पनि बनेन पुल

२०७ स्थानीय तहले ल्याउनै सकेनन् बजेट Read Next

२०७ स्थानीय तहले ल्याउनै सकेनन् बजेट