काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले खुद नाफामा छलाङ मारेको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ४८.३५ प्रतिशतले वृद्धि भएको छ ।
असार मसान्तसम्म लघुवित्तले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ४ करोड ४२ लाख रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफामा वृद्धि हुँदा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४६.३६ प्रतिशतले बढेर २३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तको संचालन मुनाफा ४९.६५ प्रतिशतले बढेर १९ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म लघुवित्तले ४ अर्ब ६४ करोड सापटी लिई ५ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ । हाल ८० करोड ५१ लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ९ करोड ५० लाख र रिटेन्ड अर्निङमा ११ करोड ५३ लाख रुपैयाँ संचित रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४.३५ रुपैयाँले १६.७९ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने ०.९९ प्रतिशतबाट घटेर ०.४९ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२६.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.०४ प्रतिशत रहेको छ ।