काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । सेयर बजारमा लगातार वृद्धि भएको आज छैटौं दिन हो ।
सोमबार सेयर बजार मापक सूचक नेप्से १८.०३ अंकले बढेर २०३९.४३ विन्दुमा पुगेको छ । यसदिन २११ कम्पनीको १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९६० रुपैयाँ बराबरको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै ४.९३ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको सवा ९ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स ७ करोड र अपी पावर पौने ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज वरुण हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, इमर्जिङ नेपाल ९.६२, चन्द्रागिरी हिल्स ६.०६, अपी पावर ५.१८, तारागाउँ होटल ४.९८, ओरेन्टल होटल ४.८५, सिंगटी हाइड्रो ४.७०, सोल्टी होटल ४.६३, नेपाल हाइड्रो डेभलपर र एक्सल डेभलपमेन्ट बैंकका सेयरधनीले ४ प्रतिशत कमाएका छन् ।