काठमाडौं । गत आर्थिक वर्षको अन्तिम महिना असारमा घरजग्गा किनबेचसँगै कारोबारमा गिरावट आएको छ । सरकारले अघिल्लो महिनादेखि कार्यान्वयनमा ल्याएको भू–उपयोग नियमावली, बैंकिङ प्रणालीमा तरलता अभाव, ब्याजदर वृद्धि लगायतका कारणले किनबेच घटेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत जेठको तुलनामा असारमा ७ हजार ४८६ ले घरजग्गा किनबेच घटेको छ । जेठमा कुल घरजग्गा किनबेच ५४ हजार ५१४ भएकोमा असारमा घटेर ४७ हजार २८ मा सीमित भएको छ ।
किनबेचसँगै कारोबारमा पनि गिरावट आएको छ । जेठ मसान्तमा कुल घरजग्गा कारोबार १ लाख २३ हजार ६५२ भएकोमा असारमा ९ हजार ३०५ ले घटेर १ लाख १४ हजार ३४७ मा सिमित भएको छ ।
गत वैशाखमा ओरालो लागेको घरजग्गा किनबेच जेठमा बढेको थियो । भूमी व्यवस्था, सहकारी मन्त्रालयले गत जेठ मसान्तमा जग्गाको वर्गीकरणा विना कारोबार र कित्ताकाटमा कडा गरेको थियो ।
सो नियमावली अनुसार ६ महिनाभित्र स्थानीयको भू–उपयोग परिषदले १० प्रकारका जग्गाको वर्गिाकरण गरेपछि कित्ताकाट गर्न पाइन्छ । त्यसअघि कारोबारका लागि स्थानीय तहको सिफारीस आवश्यक पर्ने व्यवस्था गरिएको छ ।
जसको कारण पनि घरजग्गा किनबेच ओरालो लागेको देखिन्छ । सरकारले कृषियोग्य जमिनको खण्डीकरण रोक्न जग्गाको वर्गीकरण र निश्चित क्षेत्रफलभन्दा कमको कित्ताकाट गर्न नपाइने नियम लागू गरेको छ ।
विभागका अनुसार यस आर्थिक वर्षमा कुल ७ लाख ४५ हजार घरजग्गा किनबेच भएको छ भने १८ लाख १४ हजार किनबेच भएकोे छ । अघिल्लो वर्षमा ७ लाख ५० हजार घरजग्गा किनबेच भएको थियो भने कुल कारोबार १५ लाख १३ हजार भएको थियो ।
२०७८/७९ को वैशाखमा वर्षकै सबैभन्दा कम घरजग्गा किनबेच भएको थियो । यद्यपि, तरलता अभावका बाबजुत फागुनमा चालु वर्षकै दोस्रो धेरै ७४ हजार ३६ घरजग्गा लिखत पारित भएको थियो भने गत साउनमा वर्षकै सर्वाधिक किनबेच भएको तथ्यांक छ ।
नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत घरजग्गा जस्ता अनुत्पादनक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले आक्रामक कर्जा प्रवाह बढाएको भन्दै जोखीम भार बढाएको थियो ।
कुन महिनामा कति भए घरजग्गा किनबेच ?
आर्थिक वर्ष २०७८/७९ घरजग्गा कारोबारमा उतरचढाव देखिएको छ । यस वर्षको साउन र भदौमा फस्टाएको घरजग्गा कारोबार असोज र कात्तिकमा सुस्ताएको थियो ।
फेरि मंसिर र पुसमा बढेको घरजग्गा कारोबार माघमा ओरालो लागेको थियो भने फागुनमा बढेर फेरि चैतमा घटेको विभागको तथ्यांकले देखाएको छ । यसैगरी, वैशाखमा आोरालो लागेको किनबेच जेठमा फस्टाएको थियो भने असारमा ओरालो लागेको विभागले जनाएको छ ।

साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा किनबेच भएको थियो भने फागुनमा दोस्रो धेरै ७४ हजार ३६ घरजग्गा लिखत पारित भएको थियो ।
त्यसैगरी, भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८, माघमा ५९ हजार ५१६, फागुनमा ७४ हजार ३६ र चैतमा ७० हजार ८३० घरजग्गा खरिद विक्री भएको थियो । वैशाखमा ४४ हजार ८०३ घरजग्गा किनबेच भएको थियो ।
७५ अर्ब ६६ करोड राजस्व संकलन
सरकारले घरजग्गा कारोबार मार्फत गत आवमा ७५ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । घरजग्गा किनबेचमा गिरावट आएपनि असारमा राजस्व संकलन भने बढेको छ ।
सहरी क्षेत्रमा किनबेच बढेसँगै राजस्व संकलन पनि वृद्धि भएको हो । गत जेठमा ४ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएकोमा असारमा आइपुग्दा १ अर्ब ८७ करोड रुपैयाँले बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
विभागका अनुसार वैशाखमा ४४ हजार घरजग्गा किनबेच हुँदा पौने ५ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । आव २०७८ को तुलनामा २०७९ मा २६ अर्ब ९ करोड रुपैयाँले राजस्व संकलन वृद्धि भएको छ ।
अघिल्लो वर्षमा घरजग्गा कारोबार वापत कुल ४८ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । असारमा सेवा करवापत २६ करोड ३६ लाख २९ हजार, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब ६० करोड २२ लाख ४९ हजार, पूँजीगत लाभ करवापत १ अर्ब ४७ करोड ३१ लाख ५७ हजार रुपैयाँ र अन्य विभिन्न विधा सो राजस्व संकलन भएको छ ।
कुल राजस्व संकलन मध्ये मालपोत कार्यालय लगनखेलबाट ७३ करोड ६८ लाख ७५ हजार रुपैयाँ, डिल्लीबजार ४५ करोड २६ लाख ८५ हजार, भक्तपुरबाट ३९ करोड ६८ लाख १३ हजार, चावहिलबाट ३६ करोड ४८ लाख ६५ हजार र कलंकीबाट ३४ करोड ४५ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
सरकारले घरजग्गा वापत गत माघमा ५ अर्ब ५० करोड, फागुनमा ६ अर्ब २६ करोड, मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख र पुसमा ६ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यी ठाउँमा भएर धेरै घरजग्गा किनबेच
यस वर्ष तराईका जिल्लाहरूमा धेरै घरजग्गा किनबेच भएका छन् । धेरै कारोबार हुने १० जिल्लामध्ये शीर्ष ७ तराईका जिल्लाहरूनै रहेको विभागको तथ्यांकले देखाएको छ ।
असारमा देशभरका मालपोत कार्यालयबाट ४७ हजार लिखत पारित हुँदा ४ हजार २६५ नामसारी, ३ हजार ४४४ संशोधन, २७ हजार ७२१ रोक्का, १७ हजार १७१ फुकुवा र १६ सय १२ दाखिला खारेज भएका छन् ।
सबैभन्दा धेरै किनबेच भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । यस कार्यालयबाट २ हजार ६३३ घरजग्गा किनबेच भएको तथ्याङ्कमा उल्लेख छ ।
इनरुवापछि जनकपुरधामबाट २१ सय ५९, लगनखेलबाट १७ सय ५६ वटा भक्तपुरबाट १६ सय ७६, झापाबाट १६ सय ४७, मोरङ बेलबारीबाट १६ सय ३२ र पर्साबाट १४ सय ९५ घरजग्गा किनबेच भएको छ ।