भारतले २८ महिनामै बनायो २९६ किमी लामो विश्वस्तरको द्रुतमार्ग, १९ फ्लाइओभर र ३०० पुल निर्माण

काठमाडौं । भारतले २८ महिनामै २९६ किलोमिटर लामो विश्वस्तरको द्रुतमार्ग निर्माण सम्पन्न गरेको छ । शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको बुन्देलखण्ड एक्सप्रेस–वेको उद्घाटन गरेका हुन् ।

एक्सप्रेस–वेको शिलान्यास २०२० फेब्रुअरीमा मोदीले नै गरेका थिए । चार लेनको बुन्देलखण्ड एक्सप्रेस–वे १ खर्ब ४८ अर्ब ५० करोड भारुमा पूरा भएको हो । पछि ६ लेनसम्म बनाउने योजना रहेको सडक ‘उत्तर प्रदेश एक्सप्रेस–वे औद्योगिक विकास प्राधिकरण’ अन्तर्गत निर्माण गरिएको हो ।

२९६ किलोमिटर लामो र चार लेनको बुन्देलखण्ड एक्सप्रेसवे उत्तर प्रदेश राज्यका सात जिल्लाहरु चित्रकूट, बांदा, महोबा, हमीरपुर, जालौन, औरैया र इटावालाई छुन्छ ।

एक्सप्रेसवे चित्रकूट जिल्लाको गोंडा गाउँस्थित एनएच–३५ बाट सुरु भएर इटावा जिल्लाको कुद्रेल गाउँसम्म पुगेको छ । त्यहाँबाट केहीपर यो आगरा–लखनऊ एक्सप्रेसवेसँग जोडिएको छ ।

एक्सप्रेस–वे सञ्चालनमा आएपछि चित्रकूटदेखि राजधानी दिल्लीसम्मको यात्रा करिब आठ घण्टामा पूरा गर्न सकिन्छ, जुन दुरी अहिले १२ देखि १३ घण्टामा मात्र पुरा हुन्छ । अर्थात् यसले यात्रा समयलाई चारदेखि ५ घण्टासम्मले घटाउनेछ ।

सरकारले यो द्रुत मार्गले कनेक्टिभिटी बढाउनुको अतिरिक्त आर्थिक विकास र रोजगारी पनि बढाउने दाबी गरेको छ । एक्सप्रेस वेको दुवैतर्फ औद्योगिक क्षेत्र विकास गर्ने योजना रहेको छ । विशेषतः सडक छेउमा रहेको जालौन र बान्दालाई औद्योगिक हबको रूपमा विकास गरिने सरकारको योजना छ ।

बुन्देलखण्ड एक्सप्रेसवेले धेरै नदीहरू हुँदै अघि बढेको छ । तिनमा श्यामा, यमुना, बेतवाजस्ता नदीहरू समावेश छन् । २९६ किलोमिटर लामो द्रुतमार्गमा ४ रेलवे ओभरब्रिज, १४ ठूला पुल, २८६ साना पुल र १९ फ्लाइओभर निर्माण भएका छन् । यात्रुहरूले एक्सप्रेसवेमा ६ टोल प्लाजा पार गर्नुपर्नेछ । सडकका धेरै ठाउँमा पेट्रोल पम्प र सार्वजनिक सुविधाको व्यवस्था गरिनेछ ।

कुम्भ मेलाअघि तयार हुनेछ गंगा एक्सप्रेस–वे

बुन्देलखण्ड एक्सप्रेस–वेपछि उत्तर प्रदेश सरकारले गंगा एक्सप्रेस–वेमा ध्यान केन्द्रित गरिरहेको छ । राज्य सरकारले सन् २०२५ मा आयोजित हुने कुम्भ मेलाअघि नै यो परियोजना पूरा गर्ने लक्ष्य लिएको छ ।

गंगा एक्सप्रेसवेले पश्चिममा मेरठलाई पूर्वमा प्रयागराजसँग जोड्नेछ । यूपी एक्सप्रेसवे औद्योगिक विकास प्राधिकरणका सीईओ अवनीश अवस्थीले बिहीबार इकोनोमिक टाइम्ससँगको कुराकानीमा ‘५९४ किलोमिटर लामो गंगा एक्सप्रेस–वेले वातावरणीय स्वीकृति पाएको र सरकारले अब परियोजनालाई गति दिने’ बताए ।

 

 

गत वर्ष डिसेम्बरमा गंगा एक्सप्रेस–वेको शिलान्यास गरिएको थियो । यो उत्तर प्रदेशको पाँचौं र सबैभन्दा लामो एक्सप्रेसवे हुनेछ, जसले मेरठलाई प्रयागराजसँग सीधा जोड्नेछ ।

गंगा एक्सप्रेस–वे हापुड, बुलन्दशहर, अमरोहा, सम्भल, बुडौन, शाहजहांपुर, हरदोई, उन्नाव, रायबरेली र प्रतापगढ हुँदै अघि बढ्छ । उत्तर प्रदेश सरकारले सन् २०२५ सम्म यो सडक पूरा गरेर भक्तहरूलाई कुम्भमा भाग लिन सजिलो बनाउने लक्ष लिएको छ । बीबीसी

सानिमा बैंकको २५ लाख कित्ता प्रमोटर सेयर विक्रीमा आयो, प्रतिकित्ता मूल्य कति ? Read Previous

सानिमा बैंकको २५ लाख कित्ता प्रमोटर सेयर विक्रीमा आयो, प्रतिकित्ता मूल्य कति ?

साउदी अरबले प्रतिदिन १३ लाख ब्यारेल तेल उत्पादन गर्ने, विश्व बजारमा कस्तो पर्छ प्रभाव ? Read Next

साउदी अरबले प्रतिदिन १३ लाख ब्यारेल तेल उत्पादन गर्ने, विश्व बजारमा कस्तो पर्छ प्रभाव ?