काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई असार ३२ गते (जुलाइ १६ तारिख) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।
आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल प्रतिलिटर १६.५६ रुपैयाँ घटेर आएको छ । हाल निगमले प्रतिलिटर पेट्रोलको १८१ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपैयाँमा बेच्दै आएको छ ।
भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरुप लाभ नमिल्ने देखिन्छ । हाल निगमले घाटामा इन्धन बेचिरहेकाले भाउ घटेर आए पनि नघट्ने देखिन्छ ।
गत आर्थिक वर्षमा मात्रै निगमले ५५ अर्ब रुपैयाँ घाटा व्यहोरिसकेको छ भने आइओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ ।