काठमाडौं । तरलता अभाव झेलिरहेका बैंकहरुलाई असार यता राहत मिल्न थालेको छ । असार लागेसँगै सरकारले खर्च बढाउँदा धमाधम बैंकमा पैसा आउन थालेको हो ।
वाणिज्य बैंकहरुले असार चौथो सातामा मात्रै ६२ अर्ब निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार असारको तेस्रो सातासम्म ३१ अर्ब निक्षेप थपिएकोमा चौथो सातामा मात्रै ६२ अर्ब थपिएको हो । असार २४ गतेसम्म वाणिज्य बैंकहरुमा कुल ९३ अर्ब निक्षेप थपिएको छ ।
निक्षेप संकलनमा आक्रमक भएका बैंकहरुको कर्जा लगानी भने सुस्त देखिएको छ । असारमा ९३ अर्ब निक्षेप संकलन गर्दा कर्जा लगानी भने १९ अर्बले घटेको छ ।

आवको जेठ मसान्तसम्म वाणिज्य बैंकको कुल ऋण ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असार २४ गतेसम्ममा १९ अर्बले घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित भएको छ ।
धमाधम निक्षेप थपिएपछि वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ह्वात्तै घटेको छ । असार चौथो सातासम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.५७ प्रतिशत कायम भएको छ । केही महिनाअघिसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो नै ९३ प्रतिशत पुगेको थियो ।
नेपाल राष्ट्र बैंकले चालु आवको असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतमा झार्न निर्देशन दिएको थियो । असार २६ गतेसम्मको समग्र वित्तीय प्रणालीको सीडी रेसियो भने ८७.१४ प्रतिशतमा झरेको छ ।