काठमाडौं । बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको १८ किलोमिटर सडक निर्माण पूरा भएको छ । नेपाली सेनाले गोरखा जिल्लास्थित बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत धार्चे गाउँपालिका वडा न ७ हावाडाँडादेखि वडा नम्बर ३ स्थित दोभानसम्मको १८ किलोमिटर ट्रयाक निर्माण कार्य सम्पन्न भएको हो ।
उक्त १८ किलोमिटर सडक खण्डको ट्रयाक निर्माण सकेर नेपाली सेनाका बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले सडक विभागलाई हस्तान्तरण गरेका हुन् ।
२०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट उक्त सडक खण्डको ट्रयाक खोल्ने कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो ।
जटिल भौगोलिक, कडा चट्टानयुक्त भू–बनोट आदिका कारण उक्त सडक खण्डको ट्रयाक खोल्ने कार्य नेपाली सेनाले २०७४ वैशाख ११ गतेबाट सुरु गरेको थियो । सेनाले उक्त सडक निर्माणको काम ६ वर्षमा सम्पन्न गरेको हो ।
उक्त सडक खण्डको निर्माणपछि गोरखाको विकट उत्तरी हिमाली क्षेत्रमा पर्ने धार्चे गाउँपालिका तथा चुनमुब्री गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोडिन गएको छ । यस सडकले समग्र उत्तरी गोरखा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने नेपाली सेनाले जनाएको छ ।