झन् खस्कँदै अर्थतन्त्र,यस्ता छन् मुख्य सूचक

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ) मसान्तसम्म अर्थतन्त्रका सूचकहरु नकारात्मक छन् । अन्तर्राष्ट्रिय प्रभावका कारण मूल्य वृद्धि नियन्त्रण बाहिर छ भने विदेशी मुद्रा संचितिमा दबाब छ ।

सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा उल्लेख्य सुधार आउन सकेको छैन । यसैगरी, चालु खाता, सोधनान्तर स्थिति घाटामा छ ।

केन्द्रीय बैंकका अनुसार डलरसँग नेपाली मुद्रा अवमूल्यनको शृंखला बढ्दो छ । यस अवधिमा व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ भने विदेशी विनिमय संचितिको दबाब कायमै छ ।

मुद्रास्फ्रीती नियन्त्रण बाहिर

राष्ट्र बैंकको तथ्यांक अनुसार ११ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ ।

२०७८ जेठ महिनाको तुलनामा २०७९ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २२.६० प्रतिशत, ११.२२ प्रतिशत, ९.७० प्रतिशत, ९.६८ प्रतिशत र ९.१३ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, मनोरञ्जन तथा संस्कृति र घरायसी वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ ।

रेमिट्यान्समा भएन उल्लेख्य सुधार

आर्थिक वर्षको सुरुदेखि ओरालो लागेको रेमिट्यान्स आप्रवाह पछिल्ला महिनामा सुधार भएपनि उल्लेख्य बढ्न भने सकेको छैन् । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३.८ प्रतिशतले वृद्धि भई ९०४ अर्ब १८ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । गत वर्ष इतिहासकै सबैभन्दा धेरै ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

कोरोना कालमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नुका साथै रोजगारी गुमाएर स्वदेश फर्किनेहरुको संख्या बढे पनि रेमिट्यान्समा गिरावट आएको थिएन् । तर, यस आवमा रेमिट्यान्सको गिरावटले क्रिप्टोकरेन्सी जस्ता क्षेत्रमा लगानी गरेर विदेशबाटै पुँजी पलायन भएको नियामकको आशंका छ ।

चालु खाता र शोधनान्तर स्थिति घाटामा

११ महिनामा चालु खाता ५९५ अर्ब ७३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २९८ अर्ब ११ करोडले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको थियो ।

जेठ मसान्तसम्म विनिमय संचिति आई ९ अर्ब ४५ करोड अमेरिकी डलर कायम रहेको छ । यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेको थियो ।

हाल कायम रहेको विनिमय संचितिले ७.५३ महिनाको वस्तु र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।

डलरको मूल्यवृद्धि, नेपाली मुद्रा कमजोर

रुस र युक्रने युद्धका कारण डलरको मूल्यवृद्धि निरन्तर उकालो लागिरहेको छ । पछिल्लो समय डलरको माग बढ्दा मूल्य पनि सोही अनुसार बढेको हो । नेपालको भारतीय मुद्रासँग स्थायी विनिमयदर छ ।

जसकारण डलर महंगीदा भारतीय मुद्रा कमजोर बन्छ र त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पर्छ । २०७८ असार मसान्तको तुलनामा २०७९ जेठ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ४.४३ प्रतिशतले अवमूल्यन भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.२२ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७८ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर ११९.०४ रुपैयाँ रहेकोमा २०७९ असार मसान्तसम्म १२६.५१ रुपैयाँ रहेको छ ।

डलर संचितिमा सुधार, एक महिनामै ढुकुटीमा थपियो १७ करोड डलर Read Previous

डलर संचितिमा सुधार, एक महिनामै ढुकुटीमा थपियो १७ करोड डलर

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना Read Next

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना