ल्याण्डफिल साइट लैजान नसकेपछि टेकुमा जीवाणु हालेर छोपियो फोहोर

काठमाडौँ । काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर्मर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवाणु राखेर प्लाष्टिकले छोपेको छ ।

बर्षात्ले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसकेपछि टेकुमै फोहोरलाई व्यवस्थित तरिकाले थुपारिएको हो ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य इञ्जिनीयर सुनिल लम्सालका अनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवाणु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्यून हुनेछ ।

‘अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । आज घाम लागेको छ । यो अवसरलाई छोपेर हामी थप गाडी परिचालन गर्नेछौँ र साइटमा फोहोरको मात्रा घटाउनेछौँ,’ इञ्जिनियर लम्सालले भने ।

ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ । ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजनाअनुरुप प्रयास भएको हो । सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ ।

यसरी फोहोर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन् । यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ ब्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ ।

यो ब्याक्टेरिया सकारात्मक ब्याक्टेरिया हो । यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।

 

बजेट सक्ने चटारो, सरकारले गर्‍यो एकैदिन साढे २५ अर्ब खर्च Read Previous

बजेट सक्ने चटारो, सरकारले गर्‍यो एकैदिन साढे २५ अर्ब खर्च

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो, एक महिनामै आए ३८ हजार Read Next

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो, एक महिनामै आए ३८ हजार