काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । लगानीकर्ताले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि बजार बढ्ने अपेक्षा गरेको भए पनि उल्टो नेप्से दैनिक दोहोरो अंकले घटेको हो ।
अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएका थिए । त्यस यताका पछिल्ला दुई कारोबार दिनमा नेप्से ५० अंकले घटेको हो । नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत गरेपछि सेयर बजारमा दबाब परेको हो ।
शुक्रबार नेप्से ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा आइपुगेको छ ।यसदिन २१७ कम्पनीको १ अर्ब १६ करोड ८४ लाख ४२ हजार ४४४ रुपैयाँ बराबरको ३० लाख ६३ हजार ४५३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै ३.१८ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार र फाइनान्स समूहको परिसूचक पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । दोहोरो अंकले घटेको बजारमा आज हिमालयन ऊर्जा कम्पनीका सेयरधनीले ५.४४ प्रतिशत गुमाएका छन् ।
त्यसैगरी, बलेफी हाइड्रोपावर, हिमाल दोलखा, बेस्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, सिभिल लघुवित्त र शिवम् सिमेन्टको सेयर मूल्य साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।