काठमाडौं । सेयर ब्रोकरको नयाँ लाइसेन्स दिन माग गरिएको लामो समयपछि लाइसेन्स दिने प्रक्रिया अघि बढाइएको छ । नेपाल धितोपत्र बोर्डले ब्रोकरको कोटा प्रणाली खारेज गर्दै अब हरेक वर्ष सेयर ब्रोकर लाइसेन्स खुला गर्नेगरी प्रक्रिया अघि बढाएको हो ।
बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी अब हरेक वर्ष सेयर ब्रोकरको नयाँ लाइसेन्स खुलाउने प्रस्ताव गरेको हो ।
ब्रोकर लाइसेन्स लिनका लागि धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिइ निवेदन माग गर्नुपर्नेछ । त्यसपछि, प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र इच्छुक कम्पनी वा संगठित संस्थाले सिफारिसको लाग धितोपत्र बजार समक्ष निवेदन दिनुपर्नेछ ।
धितोपत्र बजारले नियमावलीको व्यवस्थाहरु पूरा भए नभएको जाँचबुझ गरी निवेदन प्राप्त भएको मितिले ३५ दिनभित्र बोर्ड समक्ष सिफारिस गर्नुपर्ने व्यवस्थामा उल्लेख छ । तोकिएको समयभित्र सिफारिस गर्न नसकेमा कारणसहित बोर्डलाई जानकारी गराउनु पर्ने र नियमावलीले गरेको व्यवस्थाहरु पूरा गरेको देखिएमा बोर्डले १५ दिनभित्र निवेदकलाई पूर्वाधार तयार गर्न सूचित गर्ने धितोपत्र बोर्डले जनाएको छ ।
चुक्ता पूँजीका आधारमा ३ वर्गका ब्रोकर
बोर्डले चुक्ता पूँजीका आधारमा ब्रोकरलाई ३ वर्गमा विभाजन गरेको छ । साथै, चुक्ता पूँजी अनुसार ब्रोकरले गर्न पाउने कामको दायार पनि तोकिएको छ ।
बोर्डका अनुसार सीमित कार्य गर्ने ब्रोकरको चुक्ता पूँजी २० करोड, पूर्ण कार्य गर्नेको ६० करोड र धितोपत्रको व्यापार गर्न ब्रोकरको चुक्ता पूँजी १ अर्ब ५० करोड तोकिएको छ ।
न्यूनतम २० करोड रुपैयाँ चुक्ता पूँजी हुने ब्रोकरले सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेश अनुसार धितोपत्र खरिद वा विक्री गर्न सक्नेछन् ।
यस्तै, ६० करोडको चुक्ता पूँजी भएका पूर्ण कार्य गर्ने ब्रोकरले मार्जिन कारोबार सम्बन्धी कार्य, लगानी परामर्श सेवा सम्बन्धी कार्य, लगानी व्यवस्थापन सम्बन्धी कार्य र निक्षेप सदस्य सम्बन्धी कार्य पनि गर्न सक्नेछन् ।
यसैगरी, डेढ अर्ब चुक्ता पूँजी भएका ब्रोकरले धितोपत्र व्यापारीले आफ्नो नामबाट धितोपत्र खरिद वा विक्री गर्न, धितोपत्र दलालको कार्य गर्न, धितोपत्र प्रत्याभूतिको कार्य गर्न र योग्य संस्थागत लगानीकर्ताको रुपमा पनि कार्य गर्न सक्नेछन् ।
