काठमाडौं । कोरोना महामारीले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र अझै तंग्रीन सकेको छैन् । महामारी मत्थर भएपछि अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु भएयता केही पर्यटक आवागमन बढेपनि पहिलेकैे अवस्थामा फर्किन भने सकेको छैन् ।
सन् २०१९ को अन्त्यतिर फैलिएको महामारीले विदेशी पर्यटक आवागमनमा करिब २ वर्ष ठप्प प्राय बनाएको थियो । जसको कारण पर्र्यटन व्यवसाय मात्र होइन समग्र होटल पनि प्रभावित बन्यो ।
होटल व्यवसायमा आन्तिरक चहलपहल त बढेको छ । तर, विदेशी पर्यटकहरुको आगमनमा भने अपेक्षा अनुसार सुधार हुन नसकेको पर्यटन विभागका अधिकारीहरु बताउँछन् ।
पर्यटन विभागका अनुसार २०१९ को तुलनामा २०२२ मा ३० प्रतिशतले पर्यटक आवागमन घटेको छ । २०२२ को ६ महिना (जुन)मा २०१९ को तुलनामा नेपाल भित्रिने पर्यटकको संख्या ३०.७ प्रतिशतले घटेको हो ।
२०१९ मा सरकारले २०२० मा पर्यटन वर्ष मनाउने गरी विश्वभरका पर्यटक नेपाल भित्राउने योजना सहित भिजिट नेपाल २०२० अभियान अघि बढाएको थियो ।
तर, महामारीको प्रभावसँगै यस्तो अभियान स्थगित गरियो भने त्यसपछिको अवधि सुनसान भयो ।
२०२२ को जुन (असार १६) सम्म ४६ हजार ९५७ पर्यटक नेपाल प्रवेश गरेको पर्यटन बोर्डको तथ्यांक छ । जबकि २०१९ को सोही अवधिमा ६१ हजार ३५१ पर्यटक नेपाल प्रवेश गरेका थिए ।
कुन देशबाट कति पर्यटक आए ?
२०२२ मा एसियाली सार्क मुलुकबाट २६ हजार ३० पर्यटकले त्रिभुवन विमानस्थल हुँदै नेपाल आवगमन गरेका छन् । समिक्षा अवधिमा २४ हजार ५५७ पर्यटक नेपाल भित्रिएका थिए ।
एसियाली सार्क देशबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या ५.७ प्रतिशतले बढेको देखिन्छ । बोर्डका अनुसार अन्य एसियाली राष्ट्र चीन, जापान, मलेसिया, सिंगापुर, कोरिया, मियान्मार, थाइल्याण्ड जस्ता देशबाट २०२२ मा २ हजार ३६९ मानिसहरु नेपाल भित्रिएका छन् ।

२०१९ को सोही समयमा यी देशहरुबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या १३ हजार रहेको थियो । युरोपेली मुलुकबाट २०२२ मा ४ हजार ७८७ पर्यटक भित्रिएका छन् । २०१९ को जुनसम्म उक्त देशबाट नेपाल भित्रिने पर्यटकको संख्या ७ हजार ५९ रहेको थियो ।
अष्ट्रेलीया, न्यूजील्याण्डबाट नेपाल भित्रिने पर्यटकको संख्या पनि यो पटक घटेको छ । २०२२ को जुनसम्ममा १ हजार ५४९ पर्यटक नेपाल प्रवेश गरेका छन् । २०१९ मा यी देशहरुबाट नेपाल भित्रिने पर्यटकको संखया १ हजार ९९१ रहेको त्रिभुवन विमानस्थलको तथ्यांकले देखाएको छ ।
अमेरिकी मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या २०२२ मा ३ हजार २४२ रहेको छ । २०१९ को सोही अवधिमा अमेरिकी मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्या ५ हजार ९५३ रहेको थियो ।