सिबिफिनको प्रधानमन्त्रीसँग छलफल, आर्थिक सुधारका लागि नीतिगत कदम चाल्न सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष तथा छलफल गरेको छ ।

आर्थिक वर्ष २०७९÷८० को लागि प्रस्तुत बजेट र नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति मार्फत आर्थिक अवस्था सुधारका लागि चालिनुपर्ने नीतिगत कदमहरुको बारेमा सुझाव सहित सिबिफिनको छलफल गरेको हो ।

सिबिफिनले वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरुको सहकार्यमा तयार गरेका बैंक तथा वित्तीय संस्थाका अप्ठारा र चुनौतिहरु र सम्बोधनका लागि सुझावहरु–०७८, तरलता अभावका कारण र समाधानका लागि सुझावहरु–०७८, विप्रेषण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा तयार गरेको बैक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह भइरहेको कर्जाले नेपालको व्यापार घाटामा प्रभाव–०७९, लगायतका सुझावसहितका प्रतिवदेनहरु प्रधानमन्त्री समक्ष बुझाएको छ ।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले कोभिड–१९ र विश्वमा घटेका विभिन्न घटनाक्रमबाट नेपालको अर्थतन्त्रमा परेका प्रभावहरुको न्यूनिकरण र समस्याग्रस्त उद्योग व्यवसायहरुको पुनरुत्थान, घरेलु, साना तथा मझौला उद्योगहरुको स्तरोन्नति, तरलताको समस्या समाधान, विप्रेषणको व्यवस्थापन, आयात–निर्यातवीचको असन्तुलन, बढ्दो व्यापार घाटा, उत्पादन तथा रोजगारीमा वृद्धि, निर्यात प्रवद्र्धन र उद्यमशिलताको विकाससहित बजेटले प्रक्षेपण गरेको ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा जानकारी गराउँदै, अध्ययन प्रतिवेदनहरुले औल्याएका निष्कर्ष एवं सुझावहरुको सम्बोधन तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्न  आग्रह गरे ।

त्यसैगरी सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले पेश गरिएका प्रतिवेदनको निष्कर्ष तथा सुझावहरुको वारेमा प्रधानमन्त्रीज्यूसमक्ष संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदन र सुझावहरु ग्रहण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सिबिफिनले प्रस्तुत गरेका सुझाव र प्रतिवेदनहरुले औल्याएका कृषि क्षेत्रको सुधार, व्यापार घाटा न्यूनिकरण तथा आयात प्रतिस्थापनका उपायहरु र निर्यातजन्य वस्तुहरु, लगानीका लागि पूँजी निर्माण तथा परिचालन जस्ता विषयहरुमा विशेष जिज्ञासा राखे ।

त्यसैगरी, वर्तमान अवस्थामा देखिएका समग्र चुनौतिहरुको सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने आश्वासन दिए ।

उनको निजी सचिवालय, बालुवाटारमा भएको छलफलमा राज्यमन्त्री उमेश श्रेष्ठ, सिबिफिनको प्रतिनिधि मण्डलमा उपाध्यक्ष श्री राजेश उपाध्याय, महासचिव श्री केशवबहादुर रायमाझी, सचिव श्री कुशकुमार मल्ली, महानिर्देशक श्री गोपाल प्रसाद तिवारीको सहभागिता रहेको थियो ।
साथै, उक्त भेटघाटमा सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

सेञ्चुरी डिबेन्चर २०८८ को सूचीकरण Read Previous

सेञ्चुरी डिबेन्चर २०८८ को सूचीकरण

वायुसेवा निगम ६५ वर्षमाःबजार हिस्सा गुमाउँदै,४७ अर्ब ऋण Read Next

वायुसेवा निगम ६५ वर्षमाःबजार हिस्सा गुमाउँदै,४७ अर्ब ऋण