काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना (साउन– जेठ)सम्म १९ वटा जीवन बीमा कम्पनीले १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छन् ।
३३ अर्ब ८५ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ८५ अर्ब ६१ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी उक्त प्रिमीयम रकम संकलन गरेका हुन् । जीवन बीमा कम्पनीहरुले समीक्षा अवधिमा १७ अर्ब रुपैयाँले बीमा शुल्क संकलन बढाएका छन्।
गत वर्षको सोही अवधिमा १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यो १६.७५ प्रतिशतले बढी हो ।
कोरोना महामारीमा अर्थतन्त्र संकूचन हुँदा खस्कीएको बीमा कम्पनीको व्यवसाय अर्थतन्त्र पुनरुत्थानसँगै वृद्धि भएको छ । चालु आर्थिक वर्षमा वित्तीय अस्थिरताका बाबजुद व्यवसाय विस्तारमा जीवन बीमा कम्पनीहरु आक्रमक देखिएका छन् ।
कुनले कति गरे बीमा शुल्क संकलन ?
सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्स पहिलो स्थानमा छ । यस कम्पनीले चालु आवको ११ महिनासम्म ३० अर्ब ६७ करोड रुपैयाँ संकलन गरेको छ ।
गत वर्षको सोही अवधिमा २७ अर्ब ५७ करोड रुपैयाँ शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष २५ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । सबैभन्दा कम व्यवसाय गर्नेमा गुँरास लाईफ इन्स्योरेन्स छ । यस कम्पनीले २ अर्ब ७३ करोड रुपैयाँ शुल्क संकलन गरेको छ ।
यो गत वर्षको तुलनामा १३.७९ प्रतिशतले कमी हो । समीक्षा अवधिमा यस कम्पनीले ३ अर्ब १७ करोड रुपैयाँले बीमा शुल्क संकलन गरेको थियो । व्यवसाय विस्तारमा सन नेपाल लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ आक्रमक देखिएका छन् ।
गत वर्ष १ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको सन नेपालले यस वर्ष वृद्धि गरेर ३ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ । यसैगरी ७६ करोड रुपैयाँ शुल्क आर्जन गरेको महालक्ष्मीले यस वर्ष १ अर्ब २८ करोड रुपैयाँ संकलन गरेको छ ।
सिटिजनले ४ अर्ब ६१ करोड, प्रभु लाईफ १ अर्ब ७४ करोड,आइएमई लाईफ २ अर्ब ८५ करोड,प्राइम लाईफ ४ अर्ब ४५ करोड,रिलायबल ३ अर्ब ४३ कारोड,नेशनल लाईफ इन्स्योरेन्सले १२ अर्ब रुपैयाँ शुल्क संकलन गरेको समितिले जनाएको छ ।
यसैगरी, ज्योती लाईफ ३ अर्ब २१ करोड,सानिमा २ करोड ३ लाख,युनियन ६ अर्ब ९३ करोड,रिलायन्स २ अर्ब ५८ करोड,एसियन ६ अर्ब, सुर्या ४ अर्ब २५ करोड,मेटलाईफ ४ अर्ब ७८,राष्ट्र्रिय बीमा संस्थान ४ अर्ब ४९ करोड र लाईफ इन्स्योरेन्स कर्पोरेसनले १४ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
बाग्मती केन्द्रत बीमा लेख,कर्णाली कमजोर
जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको बाहुल्यता बाग्मती प्रदेशमै देखिएको छ । जनसंख्याको चाप र कम्पनीहरु सहर केन्द्रीत हुँदा ग्रामीण इलाकाहरुबाट न्यून बीमालेख जारीभएको समितिको तथ्यांकले देखाउँछ ।
चालु वर्षको जेठ मसान्तसम्म जारी गरेका कुल १ करोड २६ लाख ३२ हजार ३७३ बीमालेख मध्ये बाग्मती प्रदेशबाट मात्र ८३ लाख ८ हजार बीमा लेख जारी गरीएको छ ।
समितिका अनुसार सावधिक जीवन बीमा,म्यादी जीवन बीमा, लघुजीवन बीमा,एकल बीमाशुल्क जीवन बीमा, आजीवन जीवन बीमा र वैदेशिक रोजगार म्यादी जीवन बीमा गरी बीमालेख जारी गरिएका छन् ।
वित्तीय पहुँच, विकासका संरचना र समग्र रुपमा पछि देखिएको कर्णाली प्रदेशबाट सबैभन्दा कम २ लाख २३ हजार जीवन बीमालेख जारी गरिएको छ ।
यसैगरी, १ नम्बर प्रदेशमा ११ लाख ४० हजार,मधेसमा ५ लाख १२ हजार,गण्डकीमा १० लाख ४२ हजार,लुम्बिनी ९ लाख १२ हजार र शुदुरपश्चिम प्रदेशबाट ४ लाख ९३ हजारको संख्यामा विभिन्न जीवन बीमालेख जारी गरएिको छ ।