काठमाडौं । महालेखा परिक्षकको कार्यालयले ६४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यालयको नयाँ भवनमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले गर्ने लेखा परिक्षणले मुलुकको सार्वजनिक प्रशासनको वित्तीय अनुशासन र सदाचारको बारेमा प्रष्ट पार्ने गरेको धारणा राखिन् ।
राष्ट्रपति भण्डारीले आधुनिक प्रविधिमार्फत लेखा परिक्षण हुन थालेकोमा खुसी व्यक्त गर्दै महालेखा परिक्षकको प्रतिवेदनले हरेक वर्ष बेरुजु बढ्दै गएको तथ्य औंल्याउने गरेको र अब त्यसमा सुधारको खाँचो रहेको बताइन् ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फस्र्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराए ।
‘यस बर्षको नीति तथा कार्यक्रममा समेत बेरुजु फस्र्यौटलाई प्राथमिकतामा राखिएको छ’ अर्थमन्त्री शर्माले भने, ‘सार्वजनिक आर्थिक कारोबार संचालनमा पारदर्शीता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध रहेको छ ।’
अर्थमन्त्री शर्माले लेखा परिक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्न तथा बेरुजु फस्र्यौट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको बताए । बेरुजु फस्र्यौटका लागि अहिलेसम्म अपनाएका विधि र प्रकृयाका बारेमा समिक्षा गर्नुपर्ने आवश्यकता देखेको पनि उनको भनाई थियो ।
‘बेरुजु किन बढदै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’ मन्त्री शर्माले भने ।
संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको लेखा परिक्षण गर्नुपर्ने जिम्मेवारी पुरा गरी वित्तीय व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पहिले झै यस वर्षपनि महालेखा परिक्षकबाट सुझाव प्राप्त हुने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गरे ।
सविधान र प्रचलित कानूनअनुसार सुशासन कायम गर्न उल्लेखनीय कार्य गरेको भन्दै उनले महालेखा परिक्षक र मातहतका कर्मचारीको प्रशंसा गरेका थिए ।
अर्थमन्त्री शर्माले बर्तमान अर्थतन्त्रका बारेमा महालेखा परिक्षकको कार्यलयबाट अध्ययन र विश्लेषण भई सुझाव पाउने अपेक्षा राखेको बताए । ‘एकातिर अर्थतन्त्रको आकार दिन प्रतिदिन फराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक परिसूचकहरुमा उचार चढाव आइरहेको छ ।
यसो हुँदा अर्थतन्त्रका समग्र पक्षमा गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्नुपर्ने आवश्यकता देखेको छु’ उनले भने, ‘यसमा महालेखा परिक्षकको कार्यालयका तर्फबाट शशक्त अध्ययन, विश्लेषण भई सुधारका लागि सुझाव पेश हुने अपेक्षा गरेको छु ।’