पाँच वर्षदेखि निरन्तर घट्दै वैदेशिक लगानी

काठमाडौं । चर्का नारा र लगानी सम्मेलन आयोजना गरेर वैदेशिक लगानी आह्वान गर्दै आएको सरकार र राजनीतिक दलको कुरा विश्व समुदायको कानमा पुग्न सकेन । स्थीर सरकार भएर पनि बढ्न नसकेको वैदेशिक लगानी त्यसपछिको कोभिड १९ को सैक्रमण फैलिएसँगै थला परेको देखिन्छ ।

स्थीर वा अस्थीर सरकार या कोभिड १९ को कारण मात्रै नेपालमा वैदेशिक लगानी नआएका होइनन् । वैदेशिक लगानी नआउनुमा हाम्रा राज्य प्रणाली नै दोषी छन् । उनिहरुले नियमन गर्न नसक्ने वा कुनै व्यक्तिको साँठगाँठमा अबैध कारोबार हुँदा पनि लुकाउने र पछि एकैपटक ठूलो मुद्दा बनाउने कारण पनि नेपालमा मल्टीनेशनल ब्राण्डहरु विवादीत हुँदै आएका छन् । त्यसको प्रत्यक्ष असर वैदेशिक लगानीमा परेको हो ।

विगत ५ वर्षको तथ्यांक हेर्दा हरेक वर्ष नेपालमा भित्रिने वैदेशिक लगानी प्रतिवद्धता क्रमश घट्दै गएको छ । उद्योग विभागको तथ्यांक अनुसार हरेक वर्ष अर्बौको दरले लगानी प्रतिवद्धता घटिरहेको छ । यसलाई राजनीतिक अस्थीरता र लगानीको अनिश्चित्तासँग विज्ञहरुले जोडर हेर्ने गरेका छन् ।

उद्योग विभागका अनुसार कोभिड १९ को प्रभाव र विश्व अर्थतन्त्रमा देखिएको समस्याले लगानी घटेको हो ।

विभागकी सुचना अधिकारी पूर्णीमा उपाध्याय भन्छिन, ‘लगानी कम हुन जानुमा मुख्य कारण कोभिडको असर हो, त्यसले विश्वकै अर्थतन्त्रमा असर पारेको छ, हरेक देशमा कोभिडको असर हुँदा हाम्रो देशमा आउने लगानी उनीहरुले आफ्नै ठाउँमा खर्च गर्न लागेका छन् ।’

उनका अनुसार पछिल्लो समय सरकारले वैदेशिक लगानीको २ करोड रुपैयाँबाट सुरु गर्न सक्ने लचिलो नीति ल्याएका कारण आगामी समयमा वैदेशिक लगानी बढ्ने अपेक्षा गरिएको छ । विगतमा ५ करोडभन्दा बढि रकम मात्र वैदेशिक लगानी ल्याउन पाइन्थ्यो ।

विभागले वैदेशिक लगानी ल्याउन सहज होस् भनेर असार १५ गतेबाट अटोमेसन एडमिनिश्ट्रेसन सिस्टमसमेत लागु गर्न लागेको छ । विगतमा हरेक आयोजनाहरु कागजी प्रकृया हुँदै आउनु पर्थ्यो भने अब एउटा सफ्टवेर मार्फत डिजिटल रुपमा आउन सक्नेछ ।

पाँच वर्षकाे विभागमा दर्ता भएका उद्योग ।चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ) मा ५२ अर्ब २० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । चालु आर्थिक वर्षमा कुल २५९ वटा उद्योगमा वैदेशिक लगानी आएको उद्योग विभागको तथ्यांकले देखाएको छ ।

चालु आवको सो अवधिमा पर्यटन तर्फ १०६ नयाँ उद्योगका लागि १६ अर्ब ७३ करोड रुपयाँ लगानी प्रतिवद्धता आएको छ । सर्भिस क्षेत्र तर्फ ८८ वटा उद्योगका लागि २५ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।

उत्पादन मूलक क्षेत्रमा ४७ वटा उद्योगका लागि ७ अर्ब १९ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । निर्माण क्षेत्रका लागि ७ वटा उद्योगका लागि १ अर्ब ४० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

यस्तै आइसिटी क्षेत्रमा ६ वटा उद्योग दर्ताका लागि १० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । कृषि क्षेत्रमा ४ उद्योग दर्ताका लागि ६० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता रहेको छ भने उर्जा क्षेत्रका लागि एक उद्योग दर्ता गर्न १० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा ४७ अर्ब २९ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । सो आवमा कुल १८४ वटा उद्योग दर्ता भएका थिए । उक्त आवमा पर्यटनतर्फ, सेवा क्षेत्रमा ४१, उत्पादन क्षेत्रतर्फ १९, आईसिटीमा १६, उर्जा क्षेत्रमा ४ र कृषि क्षेत्रमा ३ उद्योगको लागि प्रतिबद्धता आएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा कुल ५० अर्ब ७४ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो । उक्त आवमा २२३ उद्योगका लागि सो लगानी प्रतिवद्धता आएको उद्योग विभागको तथ्यांकले देखाउँछ । सो आवमा पर्यटन क्षेत्रमा ८२ उद्योग, सेवा क्षेत्रमा ७० उद्योग, उत्पादन मुलक क्षेत्रमा २५ उद्योग, आईसिटी क्षेत्रमा ३७ उद्योग, उर्जा क्षेत्रमा ५ उद्योग र कृषि क्षेत्रमा ४ उद्योग दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७५/७६ मा कुल ३४४ उद्योगका लागि ३१ अर्ब ८६ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो । सो आवमा पर्यटन क्षेत्रमा १३१ उद्योग, सेवामूलक क्षेत्रमा १०८ उद्योग, उत्पादनमूलक क्षेत्रमा ६२ उद्योग, माइनिङ उद्योग २ र कृषि क्षेत्रतर्फ १७ उद्योगको लागि लगानी प्रतिवद्धता आएको थियो ।

विगत ५ वर्षमा सबैभन्दा बढी लगानी प्रतिवद्धता २०७४/७५ मा आएको देखिन्छ । त्यो वर्ष कुल ४०० उद्योगमा लगानी प्रतिवद्धता आएको थियो । ४०० उद्योगको लागि ६१ अर्ब ३४ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।

पर्यटनमा १५९, सेवामा १२०, उत्पादनमा ६४, आईसिटीमा २६, उर्जामा ५ र कृषिमा २० उद्योग दर्ता भएका थिए ।

मौद्रीक नीति २०७९: बैंकको संख्या घटाउँदै सन्तुलित वृद्धि Read Previous

मौद्रीक नीति २०७९: बैंकको संख्या घटाउँदै सन्तुलित वृद्धि

हाम्रै लगानीमा बुढीगण्डकी बनाउने सरकारको निर्माण Read Next

हाम्रै लगानीमा बुढीगण्डकी बनाउने सरकारको निर्माण